असाधारण जनमतबाट पुनः प्रधानमन्त्री बन्ने ओलीको दाबी
Janjati Khabar – Janjati Khabar | २०७८ श्रावण २६, मंगलबार
एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू पुनः असाधारण जनमतबाट प्रधानमन्त्री बन्ने दाबी गरेका छन् । प्रधानमन्त्रीबाट हटेपछि पहिलोपटक संसदमा बोल्दै ओलीले आफू परमादेशबाट नभइ जनादेशबाट प्रधानमन्त्री बनेको बताए ।
उनले आफू काम हेरेर नेपाली जनताले मत दिएर प्रधानमन्त्री बनाएको भन्दै फेरि पनि त्यसै गरी प्रधानमन्त्री हुने बताएका हुन् । म जस्केला, झ्याल वा भेन्टिलेसनबाट होइन, मूल ढोकाबाट फेरि आउनेछु । फेरि पनि सुनिराख्नुभए हुन्छ । असाधारण जनमतका साथ मुलबाटो, मूल गेट मूल ढोकाबाट फेरि पनि प्रवेश गर्छु ।’
ओलीले सरकार परिवर्तन भएपछि दसैँ आए जसरी उफ्रिएको टिप्पणी पनि गरेका छन् । ‘तर सरकार परिवर्तन हुँदा गठबन्धनका नेताहरू दसैँ आए जसरी उफ्रनुभएको छ । एक महिनासम्म बधाई खाइरहनुभएको छ’, गठबन्धन सरकारप्रति व्यङ्ग्य गर्दै ओलीले भने, ‘यो सरकारले केही नगरेको भन्दा पनि गरेको छ । सुकुम्वासी भूमिहीन आयोग विघटन गरेर घाँटी सेरेको छ ।’
ओलीले थपे, ‘मलाई राम्रो ग्रहदशाले प्रधानमन्त्री बनाएको होइन । मेरा काम हेरेर जनताले मत दिएर हो । म विभिन्न नेताका महत्वाकांक्षा, ईर्श्या, जलन आदिको समिश्रणबाट पनि प्रधानमन्त्री भएको होइन । उछिट्टएर प्रधानमन्त्री पद मेरो भागमा आएको होइन । जाली मुद्दा जितेर प्रधानमन्त्री भएको होइन । म परमादेशबाट होइन जनदेशबाट भएको हो । र, प्रधानमन्त्रीबाट हट्दा मलाई कुनै चिन्ता छैन ।’


