आरोप पुष्टि हुन नसकेपछि बलात्कार मुद्दामा सिद्धबाबाले पाए सफाइ
Janjati Khabar – Janjati Khabar | २०७७ मङ्सिर २३, मंगलबार
इटहरी: एक वर्षदेखि बलात्कारको मुद्दा झेल्दै आएका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले सोमबार सफाइ पाएका छन् ।
सुनसरी जिल्ला अदालतका न्यायाधीश अर्जुनप्रसाद कोइरालाको एकतर्फी इजलासले सफाइ दिएको हो । आरोप पुष्टि हुन नसक्ने फैसला गरेपछि सिद्धबाबाले सफाइ पाएका हुन् ।
सोमबार उनको पक्षमा एकतर्फी बहस भएको थियो । सरकारी वकिलको कार्यालयले सोमबारको पेसी सार्न अनुरोध गर्दै अदालतमा पत्र पठाएको थियो । तर न्यायाधीशले पत्र दर्ता गर्न अस्वीकार गरेपछि अदालतमा एकतर्फी बहस भएको अधिवक्ता निराजन ओझाले जानकारी दिए ।
आरोपित सिद्धबाबालाई सफाइ दिने तयारी भएको जानकारी पाएपछि नै सरकारी वकिलको कार्यालयले पेसी सार्न अनुरोध गरेको बताइएको छ । आर्थिक चलखेल भएको हुनसक्ने एक कानुन व्यवसायीले आशंका व्यक्त गरे ।
थुनामा राखेर मुद्दा अघि बढाउने विषयमा केही दिनअघि सर्वोच्चले गरेको फैसलाको क्रममा महान्यायाधिवक्ता कार्यालय पुगेको मिसिल नै जिल्लामा फिर्ता नआएको जनाइएको छ । त्यसपछि पेसी सार्न गरिएको अनुरोध अदालतले अस्वीकार गरेपछि आफूहरु बहसमा नगएको ओझाले बताए ।
आफूलाई २०७६ कार्तिक ४ गते सिद्धबाबाले बलात्कार गरेको भन्दै एक महिलाले प्रहरीमा जाहेरी दिएकी थिइन् । पछि महिलाअधिकारवादीहरुसमेतको दबाबमा ‘सिद्धबाबा’माथि मुद्दा दायर भएको थियो । सुनसरी प्रहरीले १६ कात्तिकमा पक्राउ गरी अस्पतालमै पटक पटक म्याद थप गराइ अनुसन्धान गरेको थियो ।
Categorized in अपराध-दुर्घटना

