STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

इलामको श्रीअन्तुमा चलचित्र पत्रकार संघको राष्ट्रिय भेला जेठ ६ देखि ९ गतेसम्म

Janjati Khabar – विजयरत्न असंबरे | २०८२ बैशाख १४, आइतबार

नेपालका चलचित्र पत्रकार हरु को छाता संगठन  चलचित्र पत्रकार संघ नेपालले आफ्नो  स्थापनाको २६औँ वार्षिक उत्सव तथा राष्ट्रिय चलचित्र पत्रकारिता दिवस, दोस्रो राष्ट्रिय भेला–२०८२ इलामको श्रीअन्तुमा आयोजना गर्ने भएको छ। संघको केन्द्रीय समितिको आइतबार बसेको बैठकले जेठ ६ गतेदेखि ९ गतेसम्म श्रीअन्तुमा कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो। चार दिने यो कार्यक्रममा देशभरिबाट चलचित्र पत्रकारहरूको उल्लेखनीय सहभागिता रहने संघले जनाएको छ।

कार्यक्रमअन्तर्गत बृहत राष्ट्रिय चलचित्र पत्रकारिता कार्यशाला समेत सञ्चालन गरिनेछ। कार्यशालामा नेपाली चलचित्र पत्रकारिताको वर्तमान अवस्था, बदलिँदो परिदृश्य, सम्भावना र चुनौतीबारे गहन छलफल गरिने योजना छ। संघले कार्यशालालाई चलचित्र पत्रकारहरूको क्षमता अभिवृद्धि र सञ्जाल विस्तारका लागि महत्वपूर्ण अवसरको रूपमा लिएको जनाएको छ। चलचित्र पत्रकार संघ नेपालले वार्षिक उत्सव तथा राष्ट्रिय भेला मार्फत संस्थागत एकता बलियो बनाउने, नयाँ पुस्ताका पत्रकारहरूलाई उत्प्रेरित गर्ने र चलचित्र पत्रकारिताको क्षेत्रमा थप सक्रियता ल्याउने लक्ष्य राखेको छ।

नेपालको चलचित्र पत्रकारितालाई व्यवस्थित र सुदृढ बनाउन संघले विगत दुई दशकभन्दा लामो समयदेखि विविध गतिविधि सञ्चालन गर्दै आएको छ। यसपटकको भेला विशेषगरी युवा पत्रकारहरूलाई नेतृत्व विकास र पेशागत दक्षता अभिवृद्धितर्फ केन्द्रित रहने बताइएको छ। कार्यक्रमको विस्तृत कार्यतालिका र सहभागीहरूको अन्तिम नामावली चाँडै सार्वजनिक गरिने संघले जनाएको छ।

Categorized in सिनेमा