STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उत्कृष्ट स्वास्थ्यकर्मी र संस्था सम्मानित

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २४, शुक्रबार

रामपुर नगरपालिकाले स्वास्थ्य सेवा क्षेत्रमा उत्कृष्ट कार्य गर्ने स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई सम्मान गरेको छ ।  
सम्मानित हुनेहरुमा गाडाँकोट स्वास्थ्य चौकीका निशा सारु, दर्छा स्वास्थ्य चौकीका कृष्णप्रसाद वाग्ले, रामपुर अस्पतालका धनबहादुर सारु, खालिवन स्वास्थ्य चौकीका अनिताकुमारी खड्का र गेझा स्वास्थ्य चौकीका श्रीकान्ती भण्डारी रहेका छन् । त्यस्तै रामपुर नगरपालिकाभित्र रहेका नौ स्वास्थ्य संस्थामध्ये गाडाँकोट स्वास्थ्य चौकी र गेझा स्वास्थ्य चौकीलाई पनि सम्मान गरिएको छ । 
पूर्ण खोप प्रमाणीकरण तथा  सुनिश्चितता नगरपालिका घोषणा कार्यक्रमका अवसरमा बिहीबार प्रदेश नं ५ का प्रदेशसभा सदस्य युवराज खनालले ती स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थालाई सम्मानपत्रद्वारा सम्मान गर्नुभयो । 
सो अवसरमा प्रदेशसभा सदस्य खनालले सरकारले स्वास्थ्य क्षेत्रमा लगानी गरेअनुसारको जनताले सेवा पाउन नसकिरहेको उल्लेख गर्दै स्वास्थ्यकर्मीले सदरमुकामबाहेक गाउँगाउँमा बसेर सेवा दिन नचाहँदा गाउँमा सञ्चालित स्वास्थ्य संस्थामा कर्मचारी अभावको समस्या रहेको बताउनुभयो । 
ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य बीमा
पूर्वखोला गाउँपालिका–१ पाल्पाले ज्येष्ठ नागरिकको स्वास्थ्यलाई मध्यनजर राख्दै निःशुल्क स्वास्थ्य बीमा गरिदिएको छ । वडामा बसोबास गर्ने ७० वर्ष उमेर नाघेका ज्येष्ठ नागरिकलाई स्वास्थ्य उपचारमा सहज सेवा दिन वडा कार्यालयले यो कार्यक्रम ल्याएको हो ।
वडाका ७५ जना ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा गरिदिएको वडाध्यक्ष भोगबहादुर थापाले बताउनुभयो । “औषधि उपचारमा अर्काको भरमा बस्न नपरोस् भनेर बिरामी परेमा वडाले नै स्वास्थ्य उपचार गर्ने गरी ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा गरिदिएका छौँ”, उहाँले भन्नुभयो ।
ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमका लागि चालू आर्थिक वर्षमा रु एक लाख ६५ हजार रकम विनियोजन गरेको वडाध्यक्ष थापाले बताउनुभयो । 
“हामी जस्ता उमेर ढल्केका ज्येष्ठ नागरिकलाई औषधी उपचार गर्न बिमा गरेर वडा कार्यालयले ठुलो काम गरेको छ, बिरामी परे कसरी औषधी उपचार गर्ने हो भन्ने पनि पिरलो भएन” स्थानीयवासी ७९ वर्षीय गोविन्दप्रसाद श्रेष्ठले भन्नुभयो ।
 
आगामी भदौदेखि लागू हुने गरी स्वास्थ्य बीमा दर्ता गरिएको छ । बीमा गरेका ज्येष्ठ नागरिकलाई बीमित कार्डसमेत उपलब्ध गराइसकिएको छ । बीमा भएका ७५ मध्ये ५५ जनालाई पहिलो चरणमा कार्ड वितरण गरिसकिएको छ । बाँकी ज्येष्ठ नागरिकलाई यही जेठ मसान्तभित्र दोस्रो चरणमा बीमा कार्ड प्रदान गर्ने कार्यक्रम रहेको छ ।
बीमा गरेका नागरिकलाई नेपाल सरकारले तोकेका सेवासुविधा उपलब्ध गराइने वडाले जनाएको छ । यो कार्यक्रमबाट गाउँका असहाय, गरीब, विपन्न, दलित परिवारका ज्येष्ठ नागरिकलाई ठूलो राहत पुगेको छ ।
सिंहदरबारको अधिकार गाउँगाउँमा दिने गरी घर घरमा पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण, औषधोपचार सेवा, सम्मान जस्ता कार्यक्रम गाउँपालिका तथा वडा कार्यालयबाट भइरहेको छ । यस कार्यक्रमले नागरिकमा सिंहदरबार गाउँमै आएको अनुभूति भएको छ । 
पाल्पाका विभिन्न स्थानीय तहले ज्येष्ठ नागरिकलाई मध्यनजर गर्दै स्वास्थ्य बीमा, निःशुल्क स्वास्थ्य परीक्षण, औषधोपचार सेवा, सम्मान जस्ता कार्यक्रम सञ्चालन गरिरहेका छन् ।
Categorized in राष्ट्रिय