STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

एकै मञ्चमा प्रधानमन्त्री र विप्लव : तीन बुँदे सहमति : सहमतिमा आशङ्का नगर्न विप्लवको आग्रह

Janjati Khabar – Janjati Khabar | २०७७ फाल्गुण २१, शुक्रबार

काठमाडौँ – नेत्रविक्रम चन्द विप्लव समूहका महासचिव नेत्रविक्रम चन्दले सरकार र आफ्नो पार्टीबीच भएको तीन बुँदे सहमति पालना गर्न प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रिय सभा गृहमा भएको सहमतिपत्रमा हस्ताक्षर कार्यक्रममा सम्बोधन गर्दै महासचिव विप्लवले तीन बुँदे सहमतिमा आशङ्का नगर्न आग्रह गरे ।

उनले सहमतिलाई कुतर्क र उत्तेजना नगर्न पनि आग्रह गरेका छन् । नेपाललाई आत्मनिर्भर, स्वाधीन र सुन्दर देश बनाउने सपना पूरा गर्न आफूहरू लागिपरेको पनि उनले बताए ।

शुक्रवार नै सरकार र नेत्र विक्रम चन्द विप्लव समूहबीच भएको तीन बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ । सरकारी वार्ता टोलीका संयोजक गृह मन्त्री रामबहादुर थापा र विप्लव समूहका प्रवक्ता खड्कबहादुर विश्वकर्माले सहमतिमा संयुक्त रूपमा हस्ताक्षर गरेका हुन् ।

सहमतिमा सरकार र विप्लव समूहबीच राजनीतिक विषयहरूको समाधान संवादको माध्यमबाट गर्ने, विप्लव समूहका सम्पूर्ण राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा सञ्चालन गर्ने र सरकारका तर्फबाट लगाइएको विप्लव नेतृत्वको प्रतिबन्ध हटाउने, राजनीतिक बन्दीको रिहाइ गर्ने र मुद्दा खारेज गर्ने विषयहरू समेटिएका छन् ।

’सेफ ल्याण्डिङ’ : प्रधानमन्त्री ओली

सशस्त्र सङ्घर्ष गरिरहेको नेत्रविक्रम चन्द विप्लव समूहसँग भएको सम्झौता घोषणा कार्यक्रममा प्रधानमन्त्री ओलीले अब नेपालमा कुनै पनि हिंसात्मक द्वन्द्व बाँकी नरहेको बताए ।

उनले नेपालमा शान्तिको नयाँ युग सुरु भएको भन्दै शान्तिको भूमि नेपालमा अब वास्तविक शान्ति भएको बताए । प्रधानमन्त्री ओलीले विप्लव समूहसँग भएको सम्झौता ’फोर्स ल्याण्डिङ’ वा ’क्र्यास ल्याण्डिङ’ नभइ ’सेफ ल्याण्डिङ’ भएको बताए ।

प्रधानमन्त्री ओलीले विप्लव समूहसँग भएको सम्झौता रातारात भएको नभइ लामो समयको छलफलपछि सम्भव भएको बताए ।

सरकार र विप्लव नेतृत्वको नेकपाबीच यसअघि तीन बुँदे सहमति भएको थियो । सहमतिमा सरकार र विप्लव समूहबीच राजनीतिक विषयहरुको समाधान संवादको माध्यमबाट गर्ने, विप्लव समूहका सम्पूर्ण राजनीतिक क्रियाकलापहरू शान्तिपूर्ण रूपमा सञ्चालन गर्ने र सरकारका तर्फबाट लगाइएको विप्लव नेतृत्वको प्रतिबन्ध हटाउने, राजनीतिक बन्दीको रिहाइ गर्ने र मुद्दा खारेज गर्ने विषयहरू समेटिएका छन् ।

सहमतिपत्रमा भनिएको छ, ‘दुवै पक्ष नेपाल सरकार तथा नेपाल कम्युनिस्ट पार्टी देशको राजनीतिक समस्याहरू वार्ता तथा संवादबाट समाधान गर्न सहमत भएका छौँ ।

आफ्ना सबै राजनीतिक क्रियाकलापहरू शान्तिपूर्ण रूपमा सञ्चालन गर्न सहमत भएको छ । नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउन, कारागारमा भएका नेता तथा कार्यकर्ताको रिहा गर्दै सम्पूर्ण मुद्दा खारेज गर्न सहमत भएको छ । ’

हस्ताक्षर समारोहमा सरकारका वार्ता टोलीका सदस्य एवं प्रधानमन्त्रीका विदेश सल्लाहाकार भट्टराईले विगत एक वर्षदेखिको निरन्तरको प्रयासपछि वार्ता निष्कर्षमा पुगेको स्पष्ट पारे ।

हस्ताक्षर समारोह आयोजित राष्ट्रिय सभा हलको कार्यक्रम कक्ष स्वदेशी र विदेशी सञ्चारकर्मी र मन्त्री एवं नेताहरूको सुरक्षामा खटिएका सुरक्षाकर्मीले खचाखच भरिएको थियो ।

राष्ट्रिय सभा गृहमा हस्ताक्षरअघि शुक्रवार नै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको थियो ।

Categorized in राजनीति