STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

काइसोङ औद्योगिक क्षेत्र खुला गर्न व्यापारी समुदाय उत्सुक

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख २०, शुक्रबार

दक्षिण कोरियाका एकीकरण मन्त्री किम योन–चुलले उत्तर कोरियाको सीमावर्ती शहर काइसोङमा रहेको औद्योगिक क्षेत्र पुनः सञ्चालनमा ल्याउन व्यापारिक समुदायसँग छलफल गर्नुभएको छ । उत्तर कोरियाले आणविक परीक्षण गरेसँगै काइसोङ औद्योगिक क्षेत्र बन्द भएको थियो । यस क्षेत्रमा दक्षिण कोरियालीको लगानीमा केही कारखानाहरु सञ्चालनमा थिए । यो क्षेत्रले उत्तर कोरियाली नागरिकहरुलाई रोजगारीको अवसर सिर्जना गरेको थियो । छलफलका क्रममा सन् २०१६ मा एकाएक बन्द भएको उक्त औद्योगिक क्षेत्रमा रहेका औद्योगिक उपकरणको अवस्था बुझ्न २०० जनाभन्दा बढी उद्योगी व्यवसायीले काइसोङ भ्रमणका लागि अनुमति चाहेको बताएका थिए । औद्योगिक क्षेत्र बन्द भएयता उद्योगी व्यवसायीले यस्तो अनुरोध गरेको यो नवौं पटक हो । एकीकरण मन्त्रालयले व्यवसायीहरुले उत्तर कोरिया भ्रमणका लागि सहयोगको आग्रह गरेको जनाएको छ । मन्त्रालयका अनुसार मन्त्री किमले व्यवसायीको अनुरोधलाई ध्यानपूर्वक सुन्नुभएको र निरन्तर सम्पर्कमा रहने बताउनुभएको थियो । यसअघि दक्षिण कोरिया सरकारले काइसोङ औद्योगिक क्षेत्रको भ्रमणमा जान व्यवसायीलाई रोक लगाउँदै आएको थियो । खासगरी संयुक्तराज्य अमेरिकाले लगाइरहेको आर्थिक प्रतिबन्ध तथा उत्तर कोरियाले जारी राखेको आणविक परीक्षणका कारण काइसोङ औद्योगिक क्षेत्र सञ्चालनका बारेमा अन्यौल कायम छ । सन् २००४ मा खुलेको काइसोङ औद्योगिक क्षेत्र उत्तर–दक्षिण कोरियाको सफल आर्थिक सहयोग परियोजनाको रुपमा लिइएको थियो । यो औद्योगिक क्षेत्रमा दक्षिण कोरियाको पूँजी र उत्तर कोरियाको सस्तो श्रम प्रयोग हुने गरेको थियो । तर सन् २०१६ मा तत्कालीन राष्ट्रपति पार्क ह्यून–हेको आदेशमा उक्त औद्योगिक क्षेत्रबाट व्यवसायीहरु पलायन भएका थिए ।
Categorized in अन्तर्राष्ट्रिय