काठमाडौँ आइपुगे विप्लव, धर्मेन्द्र बास्तोला काभ्रेबाट रिहा
Janjati Khabar – Janjati Khabar | २०७७ फाल्गुण २१, शुक्रबार
काठमाडौँ – नेत्रविक्रम चन्द (विप्लव) काठमाडौं उपत्यका भित्रिएका छन् । आज बिहान निजी गाडी चढेर नवलपरासीबाट प्रस्थान गरेका उनी केहीबेर अगाडि काठमाडौं भित्रिएका हुन् ।
सुरक्षा स्रोतका अनुसार उनी नागढुंगा नाकाबाट काठमाडौं पुगेका छन् ।
दिउँसो दुई बजे राष्ट्रिय सभागृहमा आयोजना हुने विशेष समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले एकसाथ एउटै मञ्चबाट सम्बोधन गर्ने छन् । सो समारोहमा शान्ति प्रक्रियामा आउने लगायतका विस्तृत सम्झौतामा दुवैले हस्ताक्षर गर्नेछन् ।
समारोहमा सहभागी हुन विप्लव काठमाडौं जान लागेको सूचना पाएपछि प्रहरीले चितवनबाट स्कर्टिङ गरेको थियो ।
धर्मेन्द्र बास्तोला काभ्रेबाट रिहा
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोलालाई काभ्रे प्रहरीले रिहा गरेको छ । शुक्रबार ११ औं दिनमा बास्तोला काभ्रे प्रहरीको हिरासतबाट मुक्त भएका हुन् ।
काभ्रे प्रहरी प्रमुख भुपेन्द्र खत्रीले आज बिहान बास्तोलालाई उनकी श्रीमती हिमा र ज्वाइँ गणेश भण्डारीको जिम्मा लगाएर रिहा गरिएको बताए ।
यसअघि सर्वोच्च अदालतले बास्तोलालाई रिहा गर्न आदेश दिए पनि गेटबाटै पुनः पक्राउ गरी काभ्रे पुर्याइएको थियो ।
बिहीबार सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति भएसँगै गृहमन्त्रालयले सो समूहका नेताहरुलाई रिहा गर्न सर्कुलर गरेको थियो ।
Categorized in राजनीति

