STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

काठमाडौँ महानगरपालिका एक वडा, एक पार्कको नीति लिएर अगाडि बढेको दाबी मेयरको

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ श्रावण २५, सोमबार

काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले एक वडा एक पार्कको नीति अनुसार काठमाडौँ महानगरपालिका अघि बढेको दाबी गर्नु भएको छ । सोमबार वडा नम्बर–५ को हाँडीगाउँमा  नरबुद्धपार्कको शिलान्यास कार्यक्रममा बोल्नु हुँदै मेयर शाक्यले यस्तो दाबी गर्नु भएको हो र नरबुद्ध पार्कको शिलान्यास त्यहि नीति अनुरुप नै हो भनि भन्नु भयो । 

मेयर शाक्यले काठमाडौँ महानगरपालिले अहिलेसम्म साना–ठूला गरी करीब ७० वटा पार्क निर्माणको काम अघि बढाएको बताउनुभयो । 

उहाँले पार्क निर्माणको अभियानलाई प्राथमिकतामा राखेको बताउनु भयो । 

कार्यक्रमलाई सम्बोधन गर्दै बागमति प्रदेशका सांसद नारायण सिलवाले हाँडीगाउँदेखि कपन निलोपुलसम्मको क्षेत्रलाई पार्क हबको रुपमा विकास गर्ने योजनामा रहेको बताउनुभयो । उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले काठमाडौँ महानगरपालिका पार्क निर्माण र हरियाली कायम गर्ने अभियानमा निरन्तर रहेको बताउनुभयो । वडा नं ५ का वडाध्यक्ष रमेश डंगोलले भूमाफियाहरुले कब्जा गर्न आँटेको जग्गाको संरक्षण गर्दै पार्क निर्माणको काम अघि बढाउन पाउँदा खुशी लागेको बताउनुभयो । कार्यक्रमलाई नरबुद्ध विहारका प्रमुख भिक्षु पुुण्ण स्थविर भन्ते पञ्यारत्न स्थविरलगायतले पनि सम्बोधन गर्नुभएको थियो । 

करीब सात रोपनी क्षेत्रफलमा निर्माण हुन सो पार्कको लागत १ करोड ४८ लाख रहने काठमाडौँ महानगरपालिकाले जानकारी दिएको छ ।  पार्कमा कलात्मक डिजाइनका साना–ठूला गरी चारवटा ढोका रहने छन् भने आराम गर्नका लागि चौतारी सहितको छहारी रहने छ । त्यसैगरी विश्रामका लागि झिँगटीका छाना भएका चौतारहरु पनि रहने छन् । 

पार्कमा हरियालीका लागि दुबोसहितका मैदान रहने भने १५ फिट गोलाइको फोहोरा सहितको पोखरी रहने छ । व्यायाम र हिँडडुलका लागि बाटो र खुला ठाउँको समेत पार्क डिजाइनमा व्यवस्था गरिएको छ । वृद्धवृद्धा र अपाङ्गमैत्री पार्कमा अभय मुद्राको बुद्धको मुर्तिसमेत राख्ने योजना काठमाडौं महानगरपालिका को रहेको छ ।

Categorized in उपत्यका