कीर्तिपुर नगरपालिकाको प्रगति विवरण प्रस्तुतिकरण पत्रकार सम्मेलन : जिउँदो सहिद राइमान शाक्यलाई ८ लाख सहयोग
Janjati Khabar – ललेन्द्र शाक्य | २०७८ कार्तिक ३०, मंगलबार
ललेन्द्र शाक्य
कीर्तिपुर/कीर्तिपुर नगरपालिकाको प्रगति विवरण प्रस्तुतिकरण नियमित मासिक पत्रकार सम्मेलनमा कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले २०४६ सालको जनआन्दोलनका जिउँदो सहिद राइमान शाक्यलाई उपचार खर्च स्वरुप ८ लाख नगद रकम सहयोग गर्ने घोषणा गर्नुभएको छ ।
सोमबार कीर्तिपुर नगरपालिकामा आयोजित उक्त पत्रकार सम्मेलनमा मेयर महर्जनले जिउँदो सहिद राइमान शाक्यलाई ८ लाख रकम सहयोगका साथसाथै जिउँदो सहिद शाक्यले प्रयोग गर्नुपर्ने औषधीजन्य सामाग्रीका लागि पनि नगरपालिकाले मासिक रुपमा आर्थिक सहयोग गर्ने घोषणा मेयर महर्जनले गर्नुभएको छ ।
मेयर रमेश महर्जनले जिउँदो सहिद शाक्यको ‘हिभ बोन’ अप्रेशन गरी फेर्नुपर्ने जानकारी दिनुहुँदै प्रत्येक १०/१२ वर्षमा उक्त ‘हिभ बोन’ परिवर्तन गर्नुपर्ने जानकारी पनि दिनुभयो । जिउँदा सहिद राइमान शाक्यको हालसम्म छैठौं पटकसम्म अप्रेशन भइसकेको र अब सातौं पटक अप्रेशन गरी ‘हिभ बोन’ परिवर्तन गर्नका लागि ९ लाखभन्दा बढी रकम खर्च हुने जानकारी पनि दिनुभएको छ ।
राइमान शाक्यलाई २०४६ सालको आन्दोलनमा निरंकुश पंचायती शासकका प्रहरीबाट प्रहार भएको ३ गोली खुट्टामा लागेको थियो । कार्यक्रममा स्वयं जिउँदो सहिद राइमान शाक्यको पनि उपस्थिति रहेको थियो ।
केही दिन अघि मात्र कीर्तिपुरको नीलः सांस्कृतिक पुचःद्वारा जिउँदा सहिद राइमान शाक्य उपचारको लागि जनसमुदाय बाट सांगितिक अभियान गरी उठेको २ लाख ५० हजार ५ रुपैंया शाक्यलाई हस्तान्तरण गरिसकेको छ । त्यस्तै, नेपाल सरकार गृहमन्त्रालयबाट पनि जिउँदो सहिद राइमान शाक्यलाई ९ लाख रकम सहयोग स्वरुप प्रदान गरिने जानकारी नेपाली कांग्रेस निकट स्रोतबाट दिएको छ ।
कीर्तिपुर नगरपालिकाको उक्त नियमित मासिक पत्रकार सम्मेलनको प्रगति विवरण प्रस्तुतिकरण कार्यक्रममा हालसम्म कीर्तिपुर नगरपालिकाले गरिएका विभिन्न क्षेत्रको प्रगति विवरण पत्रकारहरुमाँझ सार्वजनिक गरिएको थियो भने मेयर रमेश महर्जनले पत्रकारहरुको जिज्ञासालाई स्पष्ट पार्नुभएको थियो ।
कीर्तिपुर नगरपालिकाकी उपमेयर एवं प्रवक्ता सरस्वती रिजाल खड्काले संचालन गर्नुभएको उक्त पत्रकार सम्मेलनमा कीर्तिपुरका नगरपालिकाका मेयर रमेश महर्जनका साथ प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा तथा विभिन्न शाखा प्रमुखहरुले प्रगति विवरण पेश गर्नुभएको थियो ।

तलेजु मन्दिर रहेको कुनै प्रमाण भेटिएको छैन
हाल चर्चाको विषय भइरहेको कीर्तिपुर १ वडा लाय्कू टोलको कीर्तिपुुर दरबार र वडा भवनको विषयमा भइरहेको विरोधको विषयमा बोल्नु हुँदै मेयर महर्जनले विरोध गरिरहेको एक समूहलाई ‘बालहठ्ठा’को संज्ञा दिनुभएको छ । मेयर महर्जनले हालको वडा भवनस्थित स्थान ‘गुलुक्वाथः’मा तलेजु मन्दिर रहेको प्रमाण नभएको र यदि उत्खनन्को क्रममा त्यहाँ तलेजु मन्दिरको अवशेष फेला प¥यो भने तलेजु मन्दिर नै निर्माण गर्ने जानकारी दिनुभयो । उहाँले उत्खनन्का लागि पुरातत्व विभागका कर्मचारीहरुलाई पनि समावेश गरिने भन्नु हुँदै बाहिरी आकृतिमा दरबार र तलेजु झल्किने भवन निर्माण गर्ने जानकारी पनि दिनुभयो ।
उक्त दरबार आकृतिको भवन एवं वडा भवन निर्माणको लागि काठमाडौं विकास समन्वय समितिबाट ६ करोड बराबरको रकम सहयोग आउने र प्रक्रिया पूरा गर्न मात्र कीर्तिपुर दरबार पुनःनिर्माणको ब्यहोरा प्रस्तुत गरी कीर्तिपुर नगरपालिकाले टेन्डर आह्वान गरेको खुलासा पनि मेयर महर्जनले गर्नुभएको छ ।
उहाँले विरोध गरिरहेको समूहले पुरातत्व विभागमा पनि रोक्काको निवेदन दिएका कारण योजना कार्यान्वयन नभएको र दरबार आकृतिको भवन निर्माण गर्न अब केही दिन पर्खिने र त्यसपछि निर्माण कार्यको लागि उत्खनन् थालनी गर्ने जानकारी पनि उहाँले दिनुभएको छ ।
मेयर महर्जनले ‘नाइँ मलाई त्यही केटी चाहिन्छ’ भन्ने गीत जस्तै विरोध गर्ने समूहले पनि त्यही गीतको भाव जस्तै व्यवहार गरिरहेको कुरा पनि हँस्यौली पारामा राख्नु भयो ।
Categorized in उपत्यका

