STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कैदीबन्दी महिलाले गरे कारागारभित्रै सोमवारी व्रत

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण ६, सोमबार

कारागारभित्रको कठोर जीवन, गन्तव्यतर्फ नियाल्दै, थाकेको आखाँ, मुहारभरी चिन्ताको रेखा कोरिएको र जीवन जिउने आस मारिसकेकी चमेली विकको हातभरी हरियो चुरा र मेहन्दी सजिएको छ । मानव बेचबिखन मुद्दामा १४ वर्षको सजाय पाएकी विक अहिले अटल सौभाग्य र सन्तानको दीर्घायुका लागि साउने व्रत बसेकी छिन् । सिन्धुली घर भएकी विक अहिले कारागारभित्र रहेको मन्दिरमा कैदीबन्दीकै रुपमा साउने व्रत बसेकी छिन् । विभिन्न मुद्दामा वीरगञ्ज कारागारभित्र सजाय काटिरहेकी १०३ महिलामध्ये करीब २५ महिला सोह्रशृङ्गार गरी साउने व्रत बसेकी महिला कैदी चौकीदार जमुना कुँवरले राससलाई बताउनुभयो । साउन महीना शुरु हुने बित्तिकै कारागारभित्र रहेकी कैदी हिन्दू महिला आफ्नो गच्छेअनुसारभित्रकै मन्दिरमा अटल सौभाग्यवती र सन्तानको दीर्घायुका लागि व्रत बस्ने गरेकी छिन् । पाँच वर्षअघि मानव बेचबिखन मुद्दामा १४ वर्षको सजाय काट्दै आएकी काठमाडौँकी लक्ष्मी पुरीकी दिनचर्या पनि विक जस्तै रहेको छ । पुरी पनि दुबै हातमा हरियो चुरा र मेहेन्दी लगाएकी छिन् । “आफू कारागारभित्र कठोर जीवनयापन गरी रहेको भए पनि घरमा रहेका श्रीमान् र छोराको सुस्वास्थ्यको लागि यो व्रत बसेको छु”, पुरीको भनाइलाई उद्धत गर्दै महिला चौकीदार कुँवरले भनिन् । हिन्दू परम्पराअनुसार बिबाहित महिलाले साउन महीनामा हरियो चुरा र मेहन्दी लगाएमा आफ्नो श्रीमान्को आयु लामो हुने जनविश्वास रहेकाले मैले पनि साउन महीनामा व्रत बसेकी छु । मानव बेचबिखन मुद्दामा पूर्पक्षका लागि थुनामा रहेकी हेटौँडा– ११ मकवानपुरकी सुस्मिता विन्दुले भनिन्,“साउन महीनाभरी आराध्यदेव महादेवको व्रत बस्ने प्रचलन पौराणिक कालदेखि नै चलिआएकाले आफूले पनि हरियो चुरा र मेहेन्दी लगाएर व्रत बसेकी छु ।” लागू औषधको आरोपमा कारागारमा बसेकी अर्की महिला कैदी काभे्र पलाञ्चोक– ३ का आशा विकले भनिन्, “हरियो मेहेन्दी र चुरा लगाउँदा भगवान महादेव प्रशन्न हुने भएकाले कारागारभित्रै भए पनि पति र सन्तानको दीर्घायुको लागि नियमित व्रत बसेकी छु । ” ज्योतिषि शास्त्रअनुसार हरियो रङ्ग बुध ग्रहको प्रतिक हो र हरियो रङ्ग लगाउँदा बुध बलियो भएर सन्तान सुख प्राप्ति र यस रङ्गले वुद्धि र समृद्धि प्राप्त हुने भएकाले साउन महीनामा महिला यो व्रत बस्ने गर्दछिन् । हत्केलामा जति गाढा मेहेन्दीको रङ्ग लगाइन्छ त्यतिनै श्रीमान्को माया पाइने भएकाले पनि महिला यो व्रत बस्ने गरेको धार्मिक विश्वास छ । एक हजार क्षमता रहेको सो कारागारमा हाल १०३ महिलासहित एक हजार २७० कैदीबन्दी छन् । तमिध्ये पाँच जना आश्रित बालबालिका रहेका छन् । कारागारभित्र २१५ भारतीय, एक बङ्गलादेशी र दुई पाकिस्तानी गरी कूल २१८ विदेशी कैदीबन्दी रहेको कारागार प्रशासनले जनाएको छ । राणाकालीन संरचना भएको सो कारागार हाल जीर्ण अवस्थामा रहेको छ । “क्षमता भन्दाबढी कैदीबन्दी रहेकाले एकै ठाउँमा बस्दा होहल्ला गरेकाले नियन्त्रण गर्न समस्या भएको छ”, जेलर श्रवणकुमार पोखरेलले भन्नुभयो, “कारागारभित्रको पर्खाल पनि पुरानो भएकाले मर्मत सम्भार गर्नुपर्ने आवश्यकता देखिन्छ ।” महिला तथा पुरुष कैदीबन्दीलाई एक अर्कासँग सम्पर्क नहुने गरी छुट्टाछुट्टै कोठामा राखिने गरेको र उनीहरुको सुरक्षाका लागि ४२ सशस्त्र प्रहरी र २३ जनपद प्रहरी कार्यरत रहेको उहाँले जानकारी दिनुभयो । दुई बिघा पाँच कठ्ठामा क्षेत्रफलमा फैलिएको सो कारागारको जग्गा अतिक्रमणको चपेटामा परेको छ ।
Categorized in राष्ट्रिय