STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

खड्गभवानी कोतमा मौलो पूजासहित सामूहिक टीका

Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन २२, बुधबार

म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा अवस्थित ऐतिहासिक तथा सामरिक महत्वले युक्त खड्गभवानी कोतमा समृद्धि र सहकालको कामना गर्दै सामूहिकरुपमा मौलो पूजा गरी टीका ग्रहण गरिएको छ । घटस्थापनादेखि बडादशैँको दिनसम्म दुर्गा भवानीको पूजा अर्चना गरी कोत परिसरमा रहेको शक्तिको प्रतिक मौलोमा दही र अक्षता चढाइँ, समृद्धि र सहकालको कामना गर्दै प्रसादस्वरुप टीका ग्रहण गरिएको हो । मौलोमा कोट पूजा तथा गुठी व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण घिमिरे, स्थानीय ज्येष्ठ नागरिक, स्थानीयवासी, पुजारी, उपासु तथा सर्वसाधारणले दही र अक्षता चढाउँदै सहकाल र समृद्धिको कामना गर्नुभयो । नेपाल एकीकरण हुनुपूर्व तत्कालीन पर्वत राज्यअन्तर्गत पर्ने ऐतिहासिक तथा सामरिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण मानिएको खड्गभवानी कोतमा परम्परादेखिनै दुर्गा भवानीको पूजा आराधना हुनुका साथै सप्तमीको दिनदेखि नवमीको दिनसम्म बलिसहित शक्तिस्वरुपा नवदुर्गा भवानीको विशेष पूजा अर्चना गर्ने परम्परा रहिआएको छ । कोतको अगाडि रहेको मौलो र हतियार रहेको कोत घर खड्ग भवानी मन्दिरका विशेषता रहे पनि बली दिएका राँगो र खसीको शिर कुन दिशातर्फ फर्कन्छ र घटस्थापनाको दिनमा बालिएको बत्ती दशमीका दिनसम्म निभ्छ कि निभ्दैन भन्ने विषयले निकै महत्व पाउने स्थानीय वृद्धवृद्धाको भनाइ रहको छ । तत्कालीन राजा भर्तिवम मल्लको दरबारलाई उनको मृत्युपछि कोत बनाई राजाले प्रयोग गरेका हातहतियार, ढाल, तरबारलगाइतका सामान राखिएको खड्ग भवानी कोत ऐतिहासिक दृष्टिकोणले मात्र नभई प्राकृतिक सौन्दर्य र पर्यटकीय दृष्टिकोणले समेत महत्वपूर्ण रहेकाले यसको विकासका लागि वडा कार्यालयले पहल गरिरहेको छ । यहाँ पदमार्ग लगायतका केही पूर्वाधार निर्माण भइसकेको बेनी नगरपालिका–२ का वडाध्यक्ष हीराबहादुर थापाले बताउनुभयो । वडाध्यक्ष थापाका अनुसार खड्गभवानी कोतसँग म्याग्दी जिल्लाकै इतिहास र बाइसेचौबीसे राज्यको वास्तविकता गाँसिएकाले कुरिलाखर्क महारानी, बेनीको शिवालय मन्दिर, निरयघाट, ढोलठान र ताकमकोटसँग ज्यामरुककोटको ऐतिहासिक सम्बन्धको बारेमा खोजीनीतिसमेत भइरहेको छ । गौरवमय इतिहास रहेको ज्यामरुककोटलाई देश विदेशमा परिचित बनाउन र यसको विकास गर्न सबैले आआफ्नो ठाउँबाट सक्दो सहयोग गर्न उहाँले आग्रहसमेत गर्नुभयो ।
Categorized in राष्ट्रिय