STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

खण्डहर बन्दै छ मुक्त हलियाको बस्ती

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ३०, सोमबार

जिल्लाको पूर्वीचौकी गाउँपालिका–२ बगलेकमा मुक्त हलिया पुनःस्थापनाका लागि निर्माण गरिएको बस्ती खण्डहर बन्दै गएको छ । 
पुस्तौँदेखि मालिकको घरमा हलो जोत्दै आएका १८ परिवारका लागि स्थापना गरिएको उक्त बस्तीमा कोही पनि नबस्दा उक्त बस्ती खण्डहरमा परिणत हुन थालेको छ । सरकारले यसै वर्ष पुनःस्थापनाको काम सक्ने बताए पनि प्रभावकारीरूपले काम नहुँदा यस वर्ष पनि पुनःस्थापना हुनेमा शङ्का पैदा भएको छ । उक्त बस्तीमा पानी र बिजुली नहुँदा आफूहरू त्यहाँ बस्न नसकेको मुक्त हलिया चन्नरी कोलीले बताउनुभयो ।
हलिया बस्ती स्थापनाका लागि विद्यालय, खानेपानी, विद्युत् तथा न्यूनतम विकासका पूर्वाधार हुनपर्ने कार्यविधिमा उल्लेख भए पनि बगलेकको जङ्गलमा बस्ती मात्रै बसाउन खोज्दा त्यहाँ समस्या भएको मुक्त हलिया बताउँछन् । 
हलियालाई पुनःहलिया नै बनाइराख्नका लागि बगलेकको जङ्गलमा बस्ती राख्ने प्रपञ्च गरिएको हलिया अभियानकर्मी गोरखबहादुर सार्कीले बताउनुभयो । कर्मचारी अभाव भएका कारण जिल्लाभर मर्मत तथा निर्माण भएका सबै घर अनुगमन गर्न नसकिएको घर अनुगमनको जिम्मा पाएका जिल्ला मालपोत कार्यालयका प्रमुख सुनिल सागर जोशीले बताउनुभयो । 
उहाँले भन्नुभयो, “हामी थोरै कर्मचारी छौँ, त्यसैले प्रत्येक घरको अनुगमन गर्न सकिने अवस्था छैन, सबै कर्मचारी पूर्ति भएपछि मात्रै अनुगमन गर्न सक्छौँ ।” मुक्त हलिया पुनःस्थापना बस्तीमा एक घर पनि मापदण्डअनुसार नबनेको स्थानीयवासीको आरोप छ ।
बस्तीमा जस्तापाताले छाइएका घर भूइँतले मात्र छन् भने उचाइ सात फिटभन्दा कम छ । भवन निर्माण भए पनि हलिया घरमा नबस्दा झन समस्या भएको पूर्वचौकी गाउँपालिकाका चक्र कठायतले बताउनुभयो । उहाँले भन्नुभयो, “मापदण्डविपरीतका घर त बनेकै थिए तर मुक्त हलिया नबस्दा झनै समस्या उत्पन्न भयो ।” 
पूर्वीचौकी गाउँपालिकको बगलेकमा मापदण्डअनुसारका घर नबनेको जानकारी आफूलाई पनि प्राप्त भएको अनुगमनको जिम्मा पाएको मालपोत कार्यालयका प्रमुख जोशीले स्वीकार गर्नुभयो । उहाँले भन्नुभयो, “बनेका घर मैले आफैले हेर्न पाएको त छैन, तर घर खासै राम्रो नबनेको भन्ने सुनेको छु, केही दिनमा अनुमन गर्न जाने छु ।” दुई कोठे भवन निर्माणको नक्सा भए पनि सानो आकारको टहराजस्तो घर निर्माण गरेर मुक्त हलियाले अनुदान लिने गरेका छन् । 
नेपाल सरकारले जग्गा खरीदका लागि रु दुई लाख र घर निर्माणका लागि रु तीन लाख २५ हजार दिए पनि घर निर्माण गर्दा करीब रु एक लाख १२ हजार मात्र खर्च भएको मुक्त हलिया दीपक कोलीले बताउनुभयो । उहाँले भन्नुभयो, “घर बनाउन रु एक लाख १२ हजार खर्च गरियो अन्य रकम कहाँ सकियो थाहा छैन ।” बस्तीमा निर्माण गरिएका घरको झ्याल ढोकासमेत नभएको मुक्त हलिया समाजका पूर्वअध्यक्ष डम्मर विकको आरोप थियो । 
 
विसं २०७४ असारमा नमूना हलिया बस्ती निर्माणका लागि अन्तिम तयारी गरेको अवस्थामा आर्थिक चलखेल भएको खबर बाहिरिएपछि जग्गा खरीदका लागि काटिएको रु ७८ लाखको चेक कोष तथा लेखा नियन्त्रण कार्यालयको खातामा जम्मा गरिएको थियो ।
हनुमान हर्टिकल्चर प्रालिका नाममा रहेको उक्त जमीन विसं २०७५ असारमा फेरि १८ व्यक्तिको नाममा खरीद गरिएको थियो । मुक्त हलिया बस्दै आएको ठाउँबाट एक घण्टाको दूरीमा रहेको उक्त जमीन सुविधाजनक नरहेको जानकारी हुँदा हुँदै पनि जमीन खरीद गरिएकामा यहाँ आशङ्का व्यक्त गर्न थालिएको छ । 
 
यसैगरी पूर्वीचौकी गाउँपालिका–२ बगलेक र दिपायल सिलगढी नगरपालिका– ७ मा मुक्त हलियाका ३० परिवारको पुनःस्थापनाका लागि जग्गा खरीद गरेर घर निर्माण गरिएको छ । प्रतिपरिवारका लागि रु पाँच लाख २५ हजार लगानी गरिए पनि उनीहरु पुरानै घरमा बस्दै आएको हलिया अगुवा डम्मर विकले बताउनुभयो ।
  उहाँका अनुसार ३० परिवारका लागि नेपाल सरकारले रु एक करोड ५७ लाख ५० हजार लगानी गरेपनि हलिया भने लालपूर्जा नभएको जमीनमा बस्दै आएका छन् । उनीहरुका लागि निर्माण गरिएका घर जीर्ण भइसक्दा पनि कसैले चासो देखाएका छैनन् । 
Categorized in राष्ट्रिय