चलचित्रको माध्यमबाट उठाए सीमानामा काँडेतार लगाउनु पर्ने आवाज
Janjati Khabar – विजयरत्न असंबरे | २०७९ आषाढ ३१, शुक्रबार
सीमानामा काँडेतार अभियानका संयोजक तथा राष्ट्रिय भावधारामा निर्माण गरिएको चलचित्र "काँडेतार"का निर्माता एवं नायक नवल खड्काले नेपाल-भारतबीचको सीमालाई व्यवस्थित गर्न काँडेतार लगाउनु पर्ने प्रस्ताव सहित चलचित्र निर्माण गरिएको बताउनु भयो । यसअघि मायाबसेछ,क्रान्ति, आवाज, दशगजा र भीमदत्त फिल्म निर्माण गरेका खड्का को नयाँ चलचित्र "काँडेतार" अहिले प्रदर्शनका लागि तयार भएको छ । यही चलचित्रको बजार प्रवर्द्धन गर्ने क्रममा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा यस्तो प्रस्ताव गर्दै फिल्मको निर्माण टिमले विद्यार्थी संगठनका अध्यक्षसँग छलफल पनि गरेको छ । सीमानामा काँडेतार अभियानका संयोजक तथा निर्देशक खड्काले नेपालका लागि खुला सीमाना घातक भएको बताए ।
मुलुकमा देशभक्ति भावनामा बनेका चलचित्र निर्माण गर्ने क्रम घट्दै गएको स्थितिलाई दृष्टिगत थर्दै निर्माता निर्देशक खड्काले बजारिया चलचित्रको कारण परिस्थिति जटिल अवस्थामा पुगेको बताए । हलिउड र बलिउडले चलचित्रको सांस्कृतिक पक्षलाई बुझे पनि नेपाली शासकले नबुझेको उनले आरोप लगाए ।
नेपाल पत्रकार महासंघ अध्यक्ष विपुल पोखरेलले फिल्मले गरेको काँडेतार प्रस्ताव नागरिकसामु आएको र यसको निर्णय जनताले गर्ने बताए । राष्ट्रियताको प्रवर्द्धन गर्ने सवालमा नेपाली पत्रकारिताले सबैभन्दा बढी योगदान दिएको अध्यक्ष पोखरेलले बताए । सामाजिक उत्तरदायित्वको सिद्धान्तप्रति आधारित रहेर फिल्म निर्माण हुनुपर्ने पनि उनले बताए ।
अनेरास्ववियू अध्यक्ष सुनिता बरालले चलचित्रले प्रस्ताव गरेको काँडेतार अभियानमा संगठनको समर्थन रहने बताइन् ।
अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंहले राष्ट्रघाती दलाल चरित्रविरुद्ध युवा लड्नुपर्ने भन्दै काँडेतार अभियानमा संगठनको साथ हुने बताइन् । बाह्य शक्तिले नेपाललाई खेल मैदान बनाउन चाहेको र यसको प्रतिरोध गर्नुपर्ने उनले बताइन् ।
नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले अभियानलाई सबैले समर्थन गर्नुपर्ने बताए । अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाश शाहीले राष्ट्रियताको सवालमा सबै एक हुनुपर्ने धारणा व्यक्त गरेका थिए ।
सत्यकला राई कार्यकारी निर्माण रहेको "काँडेतार" चलचित्रमा नवलसहित गौरव पहारी, सुरबिना कार्की, रेविका गुरुङ प्रशान्त यादव, मुरलिधर, प्रेम सुब्बा,राेमियन लिम्बू लगायतको मुख्य भूमिका रहेकोछ । चाँडै प्रदर्शनको तयारी भइरहेको " काँडेतार " चलचित्रले भारतले नेपाली सीमा अतिक्रमण गरेको मुद्दालाई उठाएको बताइएकोछ ।
Categorized in सिनेमा

