चलचित्र ‘हर्ष’ मा खगेन्द्र लामिछानेको रोमान्टिक अवतार
Janjati Khabar – Janjati Khabar | २०८२ कार्तिक २८, शुक्रबार
नेपालको चलचित्र जगतमा खगेन्द्र लामिछानेको इमेज अलग्गै खालको छ भने अब उनी रोमान्टिक अवतारमा देखिने भएका छन् । एकता पौडेलको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘हर्ष’को दोस्रो गीत ‘कुटु कुटु कस्तो माया लाग्यो बरिलै’ सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक सिनेमाको गीतमा सिनेमाका दुई मुख्य कलाकार खगेन्द्र लामिछाने र वर्षा राउत रोमान्टिक अवतारमा प्रस्तुत छन् ।
सार्वजनिक गीतको भिडियोमा सुनिल क्षेत्रीको कोरियोग्राफी रहेको छ । अभि वाग्ले र सुरेश देओल सह-कोरियोग्राफर रहेको गीतको भिडियोले दर्शकलाई सिनेमाप्रति उत्साह पैदा गर्न सफल देखिन्छ ।
एलिस कार्कीले कम्पोज गरेको यो गीतमा सनिश श्रेष्ठ र अप्सरा घिमिरेको स्वर छ । नीरकमल खड्का (मामल)को शब्द रचना रहेको गीतमा एरेञ्ज, मिक्सिङ र मास्टरिङ्ग शैलेन्द्र एम प्रधान (बाबु) को छ ।
गायक सनिश श्रेष्ठ ‘द भ्वाइस अफ नेपाल सिजन २’ बाट चर्चाका आएका थिए । त्यसपछि गुमनाम जस्तै देखिएका गायक श्रेष्ठ आगामी मंसिर १२ गतेबाट देशव्यापी प्रदर्शनमा आउने सिनेमा ‘हर्ष’बाट पाश्र्व गायनमा प्रवेश गरेका हुन् । यो गीतले आफुलाई संगीतमा स्थापित गर्ने विश्वास उनको छ ।
निर्देशक एकता पौडेल स्वर्गिय निर्देशक शिव रेग्मीकी भान्जी हुन् । न्यूयोर्क फिल्म एकेडेमीमा सिनेमा मेकिङ अध्ययन तथा आमसंचारमा स्नातक र व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर गरेकी निर्देशक पौडेलले यसअघि केही छोटा सिनेमा समेत निर्माण गरेकी छन् ।
सिनेमामा खगेन्द्र र वर्षासहित नीर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, सिर्जना नापित र बालकलाकार साइमन वादीको अभिनय छ ।
आलोक शुक्लाको छयांकन, समीर र हिमाल, वसन्त सापकोटा तथा एलिश कार्काको संगीत, लोकेश बज्राचार्यको सम्पादन तथा सुनिल क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफी सिनेमामा छ ।
अष्टलक्ष्मी प्रोडक्सन्स् र ई-प्राईम मुभिजको ब्यानरमा निर्माण भएको सिनेमाको कथा स्वयं निर्देशक पौडेलको हो । प्रशन्न पौडेल र विकास पौडेल निर्माता तथा हिक्मत चोखाल कार्यकारी निर्माता रहेको सिनेमाका प्रोडक्सन म्यानेजर इश्वर घिमिरे, मुख्य सहायक निर्देशक कुलदीप शर्मा हुन् ।
Categorized in सिनेमा

