छुटेपछि दुर्गा प्रसाईंले भने- अबको प्रधानमन्त्री मै हो
Janjati Khabar – Janjati Khabar | २०८१ आश्विन १५, मंगलबार
काठमाडौं - जिल्ला अदालत काठमाडौंबाट एक लाख धरौटीमा छुटेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले यस पटक प्रधानमन्त्री केपी शर्मा ओली पनि आफूसँग हारेको बताएका छन् ।
साइबर अपराधसम्बन्धी मुद्दामा मंगलबार एक लाख धरौटी बुझाएर प्रहरी हिरासतबाट रिहा भएका प्रसाईंले माइतीघर मण्डलमा समर्थकलाई सम्बोधनका क्रममा यस्तो बताएका हुन् ।
उनले आफूसँग एमालेले पहिले नै हारिसकेको अवस्थामा यस पटक प्रधानमन्त्री ओली पनि हारेको बताए ।
देशको अबको प्रधानमन्त्री आफैं बन्ने पनि दाबी प्रसाईंले गरे । ‘देशको प्रधानमन्त्री अहिले दुर्गा प्रसाईंसित लड्दैछ । प्रधानमन्त्रीले पनि हार्यो भने दुर्गा प्रसाईं नै प्रधानमन्त्री हो ।’ आफूले अहिलेसम्म राजनीति नगरेको बताउँदै अब भने त्यसमा होमिएको पनि प्रसाईंले समर्थकलाई बताए ।
१ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश
दुर्गा प्रसाईंलाई १ लाख धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।
काठमाडौँका जिल्ला अदालतका न्यायाधीश ठाकुर प्रसाद खरेलले दुई वटा मुद्दामा ५०/ ५० हजार धरौटीमा छाड्न आदेश भएको साइबर ब्यूराका एसपी दीपकराज अवस्थीले बताए ।
गत ६ असोजमा भक्तपुरबाट पक्राउ परेका प्रसाई हिरासतमा परेपछि बिरामी भएको भन्दै अस्पतालमा थिए । अभियोगमा उनीमाथि अधिकतम अर्थात ५ वर्ष कैद र एक लाख रुपैंया जरिवानाको माग गरेको थियो।
Categorized in राजनीति

