STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

छ वर्षमा पनि बनेन कमलविनायक–नगरकोट सडक

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण १३, सोमबार

ठेक्का भएको छ वर्षसम्म पूरा हुन नसकेको पर्यटकीयस्थल कमलविनायक–नगरकोट सडकको प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले आइतबार स्थलगत अनुगमन गरेको छ । विसं २०७० मा शुरु भई दुई वर्षमा पूरा हुनुपर्ने १७ किमि सडक छ वर्ष बित्दा पनि निर्माण हुन नसक्दा पर्यटकमार्फत विश्वव्यापी रुपमा नकारात्मक सन्देश गएको स्थानीयवासीको गुनासो छ । राजधानी नजिकैबाट विश्वको सर्वोच्च शिखर सगरमाथाका साथै धेरै हिमाल एवं सूर्योदयको दृश्य देखिने नगरकोट आन्तरिक एवं बाह्य पर्यटकको रोजाइमा पर्दै आएको छ । सडक अनुगमनपछि आयोजित अन्तरक्रिया कार्यक्रममा समिति सभापति कल्याणीकुमारी खड्काले सन् २०२० को नेपाल भ्रमण वर्षअगावै सडक कालोपत्र पूरा गर्न सम्बन्धित सरकारी निकायलाई निर्देशन दिनुभयो । चाँगुनारायण नगरपालिकाका नगरप्रमुख सोमप्रसाद मिश्रले ठाउँ ठाउँमा खाल्डाखुल्डी भएको सडकमा दुर्घटना भई धेरैले जीवन गुमाउनु परेको, पर्यटन व्यवसायमा नकारात्मक प्रभाव परेकाले अब थप भएको समयमा निर्माण पूरा नगरे कडा कदम चाल्न बाध्य हुनुपर्ने बताउनुभयो । रु ३७ करोड ८७ लाखमा शैलुङ कन्स्ट्रक्सनले निर्माण जिम्मा पाएको सडक किनारमा बनेका ड्रेनलगायत संरचना गुणस्तरीय नहुँदा सम्पन्न नभई भत्कन थालेको सडक निर्माण दबाब समिति संयोजक राजकुमार लामिछानेले गुनासो गर्नुभयो ।
Categorized in राष्ट्रिय