जार र बोतलकाे पानीमा तोकेभन्दा बढी मूल्य लिए कारबाही
Janjati Khabar – Janjati Khabar | २०८० भाद्र १, शुक्रबार
काठमाडौँ - नेपाल बोटल वाटर उद्योग सङ्घले खानेपानीको जार र बोतलमा सरकारले तोकेको भन्दा बढी शुल्क नलिन आग्रह गरेको छ । सङ्घले आज पत्रकार सम्मेलन गरी पानीमा सरकारले तोकेभन्दा बढी मूल्य लिएको गुनासो आएको जनाउँदै बढी शुल्क नलिन व्यवसायीको ध्यानाकर्षण गरेको हो । बढी मूल्य लिएकाे पाइएमा कारबाही हुने सङ्घले जनाएकाे छ ।
सङ्घका अध्यक्ष धुव्र गौतमले विचौलियाका कारण आम उपभोक्तालाई पानीको मूल्य सरकारले तोकेभन्दा बढी परेको जनाउँदै सङ्घले बजार अनुगमलाई तीव्र पार्न खोजेको बताए । “उपत्यकाभित्र जारको पानीमा बढीमा ४५ देखि ४७ रुपैँयासम्म र बोतलको पानीमा प्रतिबोतल १६ रुपैँयासम्म र उपत्यका बाहिर जारको पानीमा ६० रुपैँयासम्म र बोतलको पानीमा प्रतिवोतल २० रुपैँयासम्म पर्छ, त्यसभन्दा बढी मूल्यमा बेच्ने व्यापारीलाई कारबाही हुन्छ,” उनले भने।
सङ्घले पानीको बजार अनुगमन गर्नका लागि सङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष विक्रम लिम्बू चेम्जोङको संयोजकत्वमा बजार अनुगमन समिति बनाएर बजार अनुगमनको कार्यलाई अगाडि बढाइसकेको छ ।
उक्त समितिले बजारमा रहेका थोत्रा जार, अधिकतम मूल्य, बिक्रेताको गुणस्तर परीक्षणको प्रमाणपत्र राखे नराखेको, ट्रेडमार्क मिस्युज, उत्पादन मिति र उपभोग्य मितिलगायतका विषयमा अनुगमन गर्नेछ । यसअघि उक्त समितिले ५० भन्दा बढी उद्योगी तथा बिक्रेतालाई कारबाही गरिसकेको छ । वरिष्ठ उपाध्यक्ष चेम्जोङले पानीको गुणस्तर हेरेर उपभोग गर्न आम उपभोक्तालाई आग्रहसमेत गरेका छन् ।
सङ्घका सल्लाहकार गोकर्ण सिलवालले सङ्घीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिले गरेको निर्णयका आधारमा पानीको मूल्य समायोजन भएको भन्दै समायोजन गरेकै मूल्यमा पानी खरिद गर्न आम उपभोक्तालाई आग्रह गरेका छन् । “उपभोक्तालाई ठगी गर्ने व्यवसायीलाई कारबाही गछौँ,” उनले भने ।
हाल काठमाडौँ उपत्यकाभित्रमा मात्र दैनिक दुई लाख ५० हजार जार खपत हुँदै आएको छ । नेपालबाट आर्थिक वर्ष २०७९/८० मा मात्र रु ६० करोड मूल्य बराबरको पानी विदेश निर्यात भएको सङ्घले जनाएको छ । हाल काठमाडौँ उपत्यकाभित्र झण्डै २०० र देशभर ५०० भन्दा बढी पानी उद्योग रहेका छन् ।
Categorized in राष्ट्रिय

