जेठ २० गतेसम्म लकडाउन थप्ने सरकारको निर्णय
Janjati Khabar – जनजाति खबर | २०७७ जेठ ४, आइतबार
काठमाडौं – सरकारले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि जेठ २० गतेसम्मको लागि लकडाउन लम्ब्याउने निर्णय गरेको छ ।
आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको समय थप गर्दै जेठ २० गतेसम्म पुर्याएको सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले जानकारी दिए ।
आइतबार बसेको कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समिति बैठकले लकडाउनको अवधि लम्ब्याउन सिफारिस गरेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले कोरोना संक्रमणको जोखिम बढ्दो रहेको निष्कर्ष निकाल्दै लकडाउनलाई लम्ब्याउन सिफारिस गर्ने निर्णय गरे अनुसार सरकारले जेठ २० गतेसम्म लकडाउनको समय थप गरेको हो ।
सरकारले पहिलोपटक चैत ११ देखि १८ गतेसम्म लकडाउन गरेको थियो । त्यसपछि फेरि दोस्रोपटक एक हप्ता थपेर २५ चैतसम्मका लागि लम्ब्याइएको थियो । त्यसलाई निरन्तरता दिँदै वैशाख ३, त्यसपछि १२ दिन लकडाउनको अवधि थपेर वैशाख १५ र १० दिन थप गर्दै बैशाख २५ र पछिल्लो पटक जेठ ५ गतेसम्म लकडाउनको अवधि थप गरेको थियो । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २९५ पुगेको छ । दुईजनाको कोरोनाकै कारण मृत्यु भएको भने ३६ जना निको भएका छन् ।
Categorized in राष्ट्रिय