STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

टोपबहादुर फरार, शीर्षस्थ नेताको दौडधुप भने बाक्लियो

Janjati Khabar – Janjati Khabar | २०८० बैशाख २५, सोमबार

काठमाडौं - नक्कली भुटानी शरणार्थी प्रकरणले उग्र लिइरहँदा शीर्षस्थ नेताको दौडधुप भने बाक्लिएको छ । सोमबार संवैधानिक परिषद्को बैठक सकिएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छुट्टै भेटवार्ता गरेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझी मुछिएपछि ओलीले प्रचण्डसँग पटकपटक भेटवार्ता जारी राखेका छन् । ओलीले नक्कली मान्छे मुछिनु नहुने भन्दै रायमाझीको बचाउ गर्दै आएका छन् ।

अदालतले यस प्रकरणमा मुछिएका रायमाझीलाई पक्राउ गर्न पुर्जी जारी गरिसकेको छ भने प्रहरीले रायमाझीलाई खोजिरहेको छ । तर, रायमाझी फरार छन् । प्रहरीले पक्राउ गर्न सकेको छैन ।

एमालेकै उपाध्यक्ष एवं पूर्वगृहमन्त्री रामबहादुर बादलका छोरा प्रतिक थापा पनि यस प्रकरणमा मुछिएका छन् । छोरासँगै बुवा बादल पनि संलग्न रहेको आशंका बढिरहेका बेला प्रधानमन्त्री प्रचण्डलाई ओलीले एक्ला एक्लै पटक पटक भेट गरेका छन् ।

यस प्रकरणमा बालकृष्ण खाँण, कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणालगायत अन्यको नाम पनि मुछिएको छ । यस विषयमा अडियो सार्वजनिक भए पनि प्रहरीले ठूला माछा पक्रन सकेको छैन ।

एमालेले भ्रष्टाचारीलाई जोगाउँदैन : अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले भ्रष्टाचारीलाई जोगाउने पक्षमा आफू नरहेको स्पष्ट पारेका छन्। राष्ट्रिय युवा सङ्घ नेपालको पहिलो बैठकलाई आज यहाँ सम्बोधन गर्दै उनले एमालेले कसैको पनि दोषको ढाकछोक नगर्ने बताए।

“एमालेले कसैको पनि दोष र अपराधलाई ढाकछोक गर्दैन”, अध्यक्ष ओलीले भने, “कोही पनि दोषीलाई एमालेले बचाउ गर्दैन र भ्रष्टाचार कसैले गर्छ भने जान्छ । व्यक्तिगत भ्रष्टाचारलाई एमाले पनि समर्थन गर्दैन ।” उनले एमालेविरुद्ध षड्यन्त्र हुन्छ भने त्यसको मुकाबिला गर्न आफू तयार रहेको बताउनुभयो । अध्यक्ष ओलीले भ्रष्टाचारको मुद्दामा प्रमाणले तानिनुपर्ने भन्दै केही दिनअघि गिरफ्तार भए पनि मान्छेलाई किन छाडियो भनेर प्रश्न गरे।

उनले नक्कली भुटानी शरणार्थीका सम्बन्धमा प्रहरीलाई निष्पक्ष छानबिन गर्न दिनुपर्ने बताए। “दोषीलाई न्यायको कठघरामा उभ्याउनु पर्दछ । निर्दोषलाई फसाउने कोसिस गर्नुहुँदैन”, उनले भने। अध्यक्ष ओलीले दोषीलाई कारबाही गर्न सरकारलाई आग्रह गरे।

Categorized in राजनीति