STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

तरकारी खेतीतर्फ आकर्षित हँुदै बोटे समुदाय

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ २२, आइतबार

तनहुँको व्यास नगरपालिका–५ स्थित पाटन क्षेत्रमा बसोवास गर्ने बोटे समुदायका मानिसहरु पछिल्लो समय पुख्र्यौली पेशा छाडेर नदी बगरमा तरकारी खेती गर्न थालेका छन् । मादी र सेती नदीमा माछा मार्ने, ज्याला मजदूरी तथा ठूला नदीहरुमा गई बालुवा धोएर सुन निकाल्ने जस्ता पुख्र्यौली पेशा छाडेर बोटेहरु तरकारी खेतीमा लागेका हुन् । मादी नदीको बगरमा गरिएको तरकारी खेतीबाट दैनिक रु दुईदेखि रु तीन हजारसम्म आम्दानी हुने भएपछि यस खेतीतर्फ बोटे समुदायका मानिसहरु आकर्षित हुँदै गएको स्थानीय कृषक चित्रबहादुर बोटे बताउनुहुन्छ । खोलामा माछा नपाइने, नदी किनारमा अनियन्त्रित रुपमा खोलिएका क्रसर उद्योगले गर्दा सुन नपाइने जस्ता कारणले परम्परागत पुख्र्यौली पेशा धरापमा पर्दै गएकाले तरकारी खेतीतर्फ लागेका हुन् शिक्षा तथा आवश्यक सीप केही नहुँदा लामो समय वैदेशिक रोजागारीमा टिक्न नसकेर सात जना बोटे युवा स्वदेश फर्किएर अहिले तरकारी खेतीतर्फ लागेका छन् । तरकारी खेतीले दैनिकीमा परिवर्तन ल्याएको र आफूले जति मिहेनत गर्न सकियो त्यति नै आम्दानी गर्न सकिने हुँदा बगरको तरकारी खेतीले यहाँका बोटे समुदायको जीवनस्तर माथि उकास्न सहज भएको कृषक चित्रबहादुरको भनाइ छ । माछा मार्न र ज्याला मजदूरीमा दौडधुप गर्ने यहाँका बोटे समुदाय चार वर्षदेखि समूहमा आवद्ध भई मादी नदी किनारको बगरमा तरबुजा तथा तरकारी खेती गर्न व्यस्त छन् । मत्स्यजन्य कृषक समूह गठन गरी यहाँका बोटे तथा अन्य समुदायले मादी नदी किनारमा करिब २५ रोपनी क्षेत्रफल बगरमा तरबुजा तथा विभिन्न उन्नत जातका मौसमी, बेमौसीमा तरकारी खेती गर्दै आएका छन् । उत्पादित तरकारी बिक्री वितरणका लागि बजारको कुनै समस्या नरहेको उनीहरु बताउँछन् । बोटे तथा अन्य समुदायलाई बगरमा व्यावसायिक तरकारी खेती गर्न आवश्यक प्राविधिक सहयोग, उन्नत जातको बिऊविजन, टनेल निर्माण र सिन्धु कृषि सहकारी संस्थामार्फत तीन लाख ९० हजार रुपैयाँ अनुदान रकम उपलब्ध गराएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ । उक्त कार्यक्रमले समूहमा आवद्ध यहाँका करिब १७ जना महिला दिदीबहिनीको पनि जीवनस्तरमा परिवर्तन आएको छ । यहाँका महिलाहरु यतिबेला आफैँले तरकारी उत्पादन गरेर दमौली तथा आसपासका बजारमा लगि बिक्री वितरणबाट राम्रो आम्दानी गर्दै आएको स्थानीय चिजा जोशी बताउनुभयो ।
Categorized in राष्ट्रिय