STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

तीज मनाउँदै कैलाली–कञ्चनपुरका राना समुदाय

Janjati Khabar | २०८१ श्रावण २३, बुधबार

कैलाली र कञ्चनपुरमा बसोबास गर्ने राना समुदायले तीज पर्व आज हर्षोल्लासका साथ मनाउँदै छन् । राना समुदायका महिलाहरुले दाजुभाइ र भतिजाहरुको दीर्घायुको लागि व्रत बसेर मनाउने प्रचलन छ । तीज राना समुदायको महान पर्व हो । हिन्दू धर्मावलम्बीले भाद्र शुक्ल तृतीयाका दिन तीज मनाउने चलन छ भने राना समुदायले श्रावण शुक्ल तृतीयाका दिन तीज मनाउने गर्दछन् । छुट्टै पहिचान र मौलिक संस्कृति रहेको राना समुदायमा तीज पर्व आउन १५ दिन अगावै दिदीबहिनीको घरमा गएर निम्ता दिने गर्छन् । तीजका दिन पुरी, पापड, सेमइ, पकौडा, गुलगलालगायतका विशेष परिकार पकाएर चेलीबेटीसँगै छिमेकी र आफन्तलाई खुवाउने परम्परा रहेको भीमदत्त नगरपालिका–१६ का स्थानीय केशमति रानाले बताउनुभयो । दिदीबहिनीले आफ्ना दाजुभाइ र भतिजाहरूको दीर्घायुको कामना गर्दै परम्परागत पोसाकमा सजिएर तीज पर्व मनाउने गर्दछन् । यो समुदायले साउन महिनाभर मनाउने सावनकी डोला पर्वको क्रममा तीज मनाउँछन् । सावनकी डोला (पिङ)मा दिदीबहिनी तथा साथी भाइसँग रमाइलो गर्दछन् । “अन्य समुदायमा श्रीमान्को लागि तीजको व्रत लिन्छन् तर हाम्रो समुदायमा दाुजुभाइ र भतिजाको लागि व्रत लिइन्छ”, स्थानीय केशमति रानाले भन्नुभयो, “पन्ध्र दिनसम्म आफन्तसँग रमाइलो गरी तीज मनाउछाँै, यो हाम्रो ठूलो चाड हो ।” तीजमा राना समुदायका महिलाहरु दिनभरि पानीसमेत नखाइ निराहार व्रत बस्ने गर्दछन् । साँझपख कुशको गाँठो पारेर त्यसलाई चाँदीको सिक्काले काट्ने गर्दछन् । त्यसरी काटिएको कुशलाई नदीमा लगेर सेलाउने चलन छ । नदीमा कुश बगेर जति तलसम्म जाने गर्दछ, दाइभाइको आयु त्यति लामो हुने धार्मिक विश्वास रहेको स्थानीय गोमती रानाले बताउनुभयो । “जति लामो पानीको धार हुन्छ दाजुभाइको त्यति लामो आयुहोस् भन्ने कामना गर्दछौँ”, उहाँले भन्नुभयो । तीजमा विवाहित महिलासमेत माइतमा आएर रमाइलो गर्ने गर्दछन् । राना थारु समुदायको महिलाले आ–आफ्नो माइतमा बसेर व्रत बसी तीज पर्व मनाउनुका साथै दाजुभाइ र भतिजाहरूको दीर्घायुको कामना गर्दै रमाइलो गर्ने गर्छन् । “तीज आउनु अगावै दाजुभाइ आफ्ना दीदीबहिनीलाई बोलाउन जान्छन्”, स्थानीय अस्मिता रानाले भन्नुभयो, “हामी पानीसमेत नखाइ दाजुभाइको दीर्घायुका लागि व्रत बस्छौँ ।” यो समुदायमा तीज पर्व पछिल्लो समय नयाँ पुस्ताकोसमेत रोजाइमा पर्न थालेको र पुस्तान्तरण भइरहेको बुढापाकाहरु बताउँछन ।

 

Categorized in रोचक