नेपालमा लगानी गर्न चिनियाँ व्यावसायीलाई आग्रह
Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १५, आइतबार
नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको वातावरण निर्माण भएकाले नेपालका अद्वितीय तथा बृहत् क्षेत्रहरूमा लगानी गर्न चिनियाँ लगानीकर्ताहरूलाई आग्रह गर्नुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको जारी चीन भ्रमणमा भ्रमण दलका सदस्य रहनुभएका ढकालले आज बेइजिङमा नेपाली र चिनियाँ व्यापारिक समुदायका प्रतिनिधिहरूको अन्तरक्रियालाई सम्बोधन गर्दै भन्नुभयो, “नेपालमा लगानीको वातावरण बनेको छ, सरकारले लगानीमैत्री नीति तथा कानूनहरु बनाएको छ, त्यसैले नेपालमा लगानी गर्ने यो उत्कृष्ट समय हो ।”
नेपालमा यतिखेर करिब दुई तिहाइ बहुमतको स्थिर सरकार छ र नेपालमा निर्माण हुने नीति नियम र कानूनमा पनि यो स्थिर सरकारको प्रभाव देखिन्छ भन्दै सरकारले वैदेशिक लगानीलाई प्रवद्र्धन गर्नेगरी नीति कानूनहरु निर्माण गरेकोले वैदेशिक लगानीको प्रतिबद्धता पनि आइरहेको उहाँले बताउनुभयो ।
नेपालका उद्योगी व्यावसायीहरुको साझा संस्था उद्योग वाणिज्य महासङ्घको तर्फबाट उक्त संयुक्त मञ्चमा ढकालले सरकारले गत महिना सम्पन्न गरेको लगानी सम्मेलनमा नेपालमा लगानीका लागि विदेशी लगानीकर्ताहरूको उत्साहजनक प्रतिबद्धता व्यक्त भएकोले नेपालका निजी क्षेत्रका व्यावसायीहरू पनि यसबाट उत्साहित भएको बताउनुभयो ।
उपाध्यक्ष ढकालले नेपालका उद्योगी व्यावसायीहरु चिनियाँ व्यावसायीहरुसँग काम गर्न इच्छुक रहेको भन्दै सन् १९९६ देखि नै दुवै देशका उद्योगी व्यावसायीहरुले व्यापारिक, सांस्कृतिक एवं विविध क्षेत्रको सम्बन्ध सुदृढीकरणका लागि काम गरिरहेको जानकारी पनि गराउनुभयो ।
“नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको चीनको राजकीय भ्रमणबाट आगामी दिनमा दुई देशबीचको आर्थिक सम्बन्धको विकासका अतिरिक्त नेपालमा चिनियाँ लगानी भित्रिने विषयमा नेपाल सरकारसहित हामी उद्योगी व्यावसायीहरु पनि उत्साहित भएका छौँ”, ढकालले भन्नुभयो ।
उहाँले भन्नुभयो, “साधारणतया लगानीकर्ताहरू अर्थात उद्योगी व्यावसायीहरूले जेजस्तो अवस्था र वातावरण खोजिहिँड्छन् त्यस्तै लगानीका अधिक सम्भावनाहरू नेपालमा छन्, हामी तपाईँहरूलाई नेपालको पूर्वाधार निर्माण, सेवा क्षेत्र लगायतमा लगानीका लागि आह्वान गर्दछौँ ।
नेपाललाई पूर्वाधार निर्माणका कार्य, जलविद्युत, पर्यटन, निर्माण क्षेत्र, सिमेन्ट उद्योग, फलाम खानी, केबलकार, रिसोर्ट तथा व्यावसायिक कृषिका क्षेत्रमा ठूलो लगानीको खाँचो रहेकातर्फ उहाँले चिनियाँ लगानीकर्तालाई स्मरण गराउनुभयो ।
नेपाल पनि चीनको महान आयोजना बेल्ट एन्ड रोड इनिसिएटिभ्स ९बिआरआई० को अङ्ग बन्न पाउँदा नेपाललाई खुशी लागेको बताउँदै उहाँले यसबाट दुई देशबीचको आर्थिक तथा व्यापारिक सम्बन्धको प्रवद्र्धन र विकासमा ठूलो सघाउ पुग्ने अपेक्षा नेपालका उद्योगी व्यावसायीहरूले पनि गरेको सो अवसरमा बताउनुभयो ।
चीनको महत्वाकांक्षी बिआरआई आयोजनाबाट नेपालजस्ता छिमेकीहरूले प्राथमिकता पाउनुपर्ने धारणा राख्दै उपाध्यक्ष ढकालले भन्नुभयो, “आयोजनाले हामीलाई फाइदा पुग्छ भन्नेमा हामी विश्वस्त छौँ ।”
Categorized in राष्ट्रिय


