STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेपाललाई चलचित्र छायाङ्कन गन्तव्यका रुपमा विकास गर्नुपर्छ ः राष्ट्रपति

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ २७, शुक्रबार

 राष्ट्रपति विद्यादेवी भण्डारीले सांस्कृतिक विविधतासहित प्राकृतिक सौन्दर्यले सुशोभित नेपाल आफँैमा सुन्दर चलचित्र झै भएकाले मुलुकलाई चलचित्र छायाङ्कन गन्तव्यस्थलको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रपति भण्डारीले यहाँको वैभवतालाई अधिकतम सदुपयोग गर्दै अन्तर्राष्ट्रिय जगत्लाई आकृष्ट गरी चलचित्र छायाङ्कन गन्तव्यको रुपमा विकास गर्नसके पर्यटन प्रवद्र्धनमा मद्दत मिल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले चलचित्र क्षेत्रमा समयसापेक्ष तालीम, शिक्षा र भौतिक पूर्वाधारको विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । चलचित्र विकास बोर्डको आयोजनामा राष्ट्रपति भवन शीतलनिवासमा आज साँझ आयोजित ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घसाधना सम्मान’ वितरण समारोहमा उहाँले चलचित्र उद्योग सुदृढीकरणका लागि सुविधासम्पन्न छायाङ्कन स्टुडियो, चलचित्र भवन तथा भौतिक संरचना र स्वस्थ प्रतिस्पर्धा गर्ने रचनात्मक शैली भएको दक्ष जनशक्तिको आवश्यक हुने बताउनुभयो । नेपाली चलचित्र र सम्बन्धित सर्जक राष्ट्रको गौरव भएकाले सरकार, समुदाय तथा निजी क्षेत्र सबैले प्रोत्साहन गर्नुपर्नेमा जोड दिँदै उहाँले निष्पक्षलाई आत्मसात् गर्दै कलाकारहरु सार्वजनिक जीवनमा उदाहरणीय बन्नुपर्ने बताउनुभयो । राष्ट्रपति भण्डारीले सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने घोषणा गरेको सन्दर्भमा चलचित्र उद्योगले सहयोग पु¥याउनुपर्ने बताउँदै विकासको राष्ट्रिय आकाँक्षालाई साकार तुल्याई समृद्ध नेपाल निर्माण गर्ने साझा राष्ट्रिय दायित्वलाई चलचित्र क्षेत्रका सम्बद्ध व्यक्तिहरुले आत्मसाथ गर्नुपर्नेमा जोड दिनुभयो । चलचित्र जीवन्त कलाको प्रभावकारी अभिव्यक्तिसँगै समकालीन समाजको ऐना भएको स्मरण गर्दै राष्ट्रपति भण्डारीले स्वस्थ मनोरञ्जन प्रदान गरी देशको सामाजिक, सांस्कृतिक सम्पदा तथा एकता प्रदर्शन गर्ने महत्वपूर्ण माध्यम भएको उल्लेख गर्नुभयो । उहाँले समाजमा वहुआयामिक प्रभाव पार्ने सशक्त सिर्जनशील विधामा समर्पित श्रष्टाहरुका लागि सम्मान गर्ने उक्त परम्पराको सराहना व्यक्त गर्नुभयो । उहाँले नेपालमा चलचित्र क्षेत्रलाई थप प्रतिस्पर्धी, गुणस्तरीय, समसामयिक र मर्यादित बनाई मौलिक चलचित्र निर्माणमा अभिप्रेरित गर्न सम्बद्धपक्षलाई आग्रह गर्नुभयो । उहाँले विश्वमा आधुनिक प्रविधिको तीब्र विकास भएसँगै नेपाली चलचित्रको निर्माण, वितरण र प्रदर्शनलाई समयसापेक्ष बनाउनुपर्ने खाँचो औँल्याउनुभयो । नेपालमा महत्वपूर्ण भौगोलिक सांस्कृतिक सम्पदाका रुपमा रहेका चलचित्रको संरक्षण र सम्बद्र्धनमा सम्बन्धित निकायले ध्यान पु¥याउनुपर्ने उल्लेख गर्दै उहाँले सार्वजनिक स्वास्थ्य, प्राकृतिक सुरन्दरता, सांस्कृतिक धरोहर एवं पर्यावरणीय शिक्षा प्रवद्र्धनमा गर्नुपर्ने बताउनुभयो । सो अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घसाधना सम्मान’ कार्यक्रम आगामी दिनमा हरेक वर्ष भव्य रुपमा गर्ने बताउनुभयो । चलचित्र क्षेत्रले आगामी दिनमा नयाँ उचाइ लिँदै जाने विश्वास व्यक्त गर्दै मन्त्री बाँस्कोटाले कानुनी, व्यवसायी प्रबन्धहरु मिलाउँदै चलचित्र उद्योगको पारदर्शीता र थप विकासका लागि सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने आश्वासन दिनुभयो । यसपटक विगतमा रोकिएको विसं २०७३, २०७४ र २०७५ को पुरस्कार एकैपकट आज वितरण गरिएको थियो । आज हरेक वर्षको दश–दश विधामा राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गरिएको थियो । यस्तै तीन वर्षको दीर्घसाधना पुरस्कारसमेत सोही अवसरमा प्रदान गरिएको थियो । विसं २०७३ सालको दीर्घसाधना पुरस्कारबाट वरिष्ठ चलचित्रकर्मी शुभद्रा अधिकारी, विसं २०७५ को दीर्घ साधना पुरस्कारबाट वरिष्ठ चलचित्रकर्मी किशोर रानामगर र २०७५ सालको उक्त पुरस्कारबाट वरिष्ठ चलचित्रकर्मी तुलसी घिमिरेलाई सम्मान गरिएको थियो । दीर्घसाधना पुरस्कारको राशि रु तीन लाख ५१ हजार १११ छ भने चलचित्र पुरस्कारको राशि जनही रु २५ हजारको रहेको छ । कार्यक्रममा नयाँ तथा पुराना कलाकारले विभिन्न चलचित्रका मौलिक गीतमा नृत्य प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो ।
Categorized in राष्ट्रिय