STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पहिचानका आधारमा प्रदेशको नाम नराखिए सशस्त्र संघर्ष : गोपाल किराती

Janjati Khabar – Janjati Khabar | २०७९ आषाढ २९, बुधबार

काठमाडाैं - माओवादी कम्युनिष्ट पार्टी नेपालका संरक्षण गोपाल किरातीले प्रदेश १ को नामाकरण पहिचानका आधारमा नभए बन्दुक उठाउने चेतावनी दिएका छन् । एक विज्ञप्ति जारी गर्दै विगतमा पनि आफूले हतियार उठाएर सशस्त्र संघर्ष गरेको र फेरि परेको खण्डमा संघर्ष गर्न तयार रहेको चेतावनी दिएका हुन् ।

विज्ञप्तिमा भनिएको छ– ‘पहिचान विरोधी शासकहरु गोर्खाली अन्धराष्ट्रवाद कायम राख्ने अपराध नै गर्दछन् भने हामीले महान जनविद्रोहको रणनीति पनि सँगसँगै लिएका छौं । अतः हिजो सशस्त्र आन्दोलनको नेतृत्व लिएको विरासतका हामीहरु मरेका र हारेका छैनौँ, इतिहासले मागेछ भने पर्याप्त अनुभवसहित फेरि एक पटक बन्दुक उठाउन नपरोस्, यसैसाथ चेतावनी गर्दछौँ ।’

प्रदेशको नामाकरण पहिचानको आधारमा हुनेपर्ने माग उठिरहेको र आफ्नो पार्टीले पनि त्यसमा समर्थन गर्ने किरातीको भनाइ छ । उनले भनेका छन्– ‘आन्तरिक राष्ट्रिय पहिचानको आधारमा प्रदेश नामाकरणका लागि जो जसले आवाज उठाइरहेका छन्, त्यसप्रति हाम्रो पार्टी जोडदार समर्थन गर्दछ ।’

उनले प्रदेश सरकारका मन्त्रीहरु, सांसदहरु तथा पहिचान विरोधी राजनीतिक दलका नेताहरुलाई लखेट्ने चेतावनी पनि दिएका छन् । ‘जनसमुदायको माग कुल्चने धृष्टता नै गर्दछन् भने प्रदेश सरकारका मन्त्रीहरु, सांसदहरु तथा पहिचान विरोधी राजनीतिक दलका नेताहरुलाई लखेट्ने जनकार्वाही आन्दोलनको सशक्त आव्हान गर्दछौं । गाउँ–गाउँमा पहिचान दस्ता खडा गरेर अघि बढ्न विशेषतः युवाहरुलाई आव्हान गर्दछौं,’ जारी विज्ञप्तिमा भनिएको छ ।

उनले पहिचानको आन्दोलनकै लागि विगतमा उठेका विभिन्न संघर्षमा राजेन राई (मण्डेला), कुलमान जिमी, चेतकुमारी राई, अर्जून राई, कटकबहादुर साङपाङ, कुमार चेम्जोङले खुद किराती मोर्चाको जिम्मेवारी रहेकै बेला सहादत प्राप्त गरेको र प्रेम कन्दङवा र जसोदा कन्दङवाले किरात गणराज्य सरकारका सदस्यको हैसियतमा मृत्युवरण गरेको पनि उल्लेख गरेका छन् ।

आन्दोलनका क्रममा हजारौं धरपकड गिरफ्तारी, यातना र अंगभंगका अनेक किर्तिमानहरु खडा भएको उल्लेख गर्दै उनले प्रदेश १ लाई किरात–लिम्बुवान–कोचिला प्रदेश नामाकरण गर्न सम्बन्धित प्रदेशसभामा अगावै लिखित आग्रह गरेको पनि स्मरण गराएका छन् ।

Categorized in राजनीति