प्रतिनिधिसभाको बैठक एक हप्ताका लागि स्थगित
Janjati Khabar – Janjati Khabar | २०७८ मङ्सिर २८, मंगलबार
मंसिर २८, काठमाडौं - प्रतिनिधिसभाको बैठक एक हप्ताका लागि स्थगित भएको छ । मंगलबार सुरु भएको बैठक सभामुख अग्निप्रसाद सापकोटाले पुस ६ गते सम्मका लागि स्थगित गरेका हुन् ।
मंगलबारको बैठकमा पनि प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले अवरोध गरेको थियो । एमालेको अवरोधका बीच प्रतिनिधिसभामा अध्यादेशहरू पेस भएका छन् ।
गृहमन्त्री बालकृष्ण खाँणको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले नेपाल प्रहरी, प्रहरी प्रदेश, प्रहरी कार्यसम्पादन सुपरिवेक्षण समन्वय पहिलो संशोधन अध्यादेश २०७८, तेजाव तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७८ र सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश २०७८ पेस गरे ।
बडूले नै भौतिक पूर्वाधार तथा संसदीय मामिलामन्त्रीको तर्फबाट रेल्वे अध्यादेश २०७८ संसदमा पेस गरे । त्यस्तै उनले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८ पनि मन्त्री बडूले पेस गरे ।
Categorized in राजनीति

