STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

फलाक नाकाबाट तस्करीकाे ३३ किलो सुन भित्रियो

Janjati Khabar – Janjati Khabar | २०८० मङ्सिर ६, बुधबार

दोलखा- दोलखाको लामाबगर फलाक नाका हुँदै ३३ किलो सुन भित्रिएको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ । लामाबगर फलाक नाका हुँदै सुन भित्रिएको र सोबापतको रकम डलर तथा  क्रिप्टोकरेन्सीमार्फत भुक्तानी भएको खुलेको छ । सुन तस्करीमा संलग्न अन्य १२ जना अझै फरार छन् । उनीहरूको खोजी भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय दोलखा र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मङ्गलबार संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै सुन तस्करी गर्ने गिरोहलाई पक्राउ गरेपछि अनुसन्धानका क्रममा सो तथ्य खुलेको प्रहरी नायब उपरीक्षक दीपक खड्काले जानकारी दिए ।

सुन तस्करीमा संलग्न व्यक्तिको बयान र प्रहरी अनुसन्धानबाट लामाबगरको फलाक नाका हुँदै छ पटकमा ३३ किलो सुन भित्रिएको खुल्न आएको उनले बताए । तस्कर समूहले सुन खरिदबापतको रकम क्रिप्टोकरेन्सी र डलर तथा यार्सागुम्बा र कस्तुरीको बिनासमेत पठाएर भुक्तानी गर्ने गरेको पुष्टि भएको प्रहरी नायब उपरीक्षक खड्का बताउँछन्।

दोलखा प्रहरी र सीआईबीका अधिकारीसहितको संयुक्त टोलीले करिब दुई महिना लगाएर गरेको अनुसन्धानका क्रममा सुन तस्करको समूहले चिनियाँ तस्करलाई नेपालबाट क्रिप्टोकरेन्सी अर्थात् डिजिटल वालेट प्रयोग गरी दुई अर्ब ९१ करोड ४८ लाख ३२ हजार पाँच सय ९३ युनिट यूएसडीटी भुक्तानी गरेको देखिएको छ ।

सो युनिट यूएसडीटीको नेपाली कारोबार मूल्य करिब तीन खर्ब ८७ अर्बभन्दा बढी हुन आउँछ । नेपालमा क्रिप्टोकरेन्सी यूएसडीटीको कारोबार प्रतियुनिट मूल्य एक सय ३३ देखि एक सय ३८ रुपैयाँसम्म अवैधरूपमा कारोबार हुँदै आएको छ ।

Categorized in अपराध-दुर्घटना