बाजुरा र हुम्लाका छात्रालाई ‘नइ कपिल विद्यापदक’ प्रदान गरिने
Janjati Khabar – विजयरत्न असंबरे | २०८१ आश्विन ११, शुक्रबार
नइ प्रकाशनले २०८० सालको बाह्र कक्षाको परीक्षामा बाजुरा जिल्लाका सर्वोत्कृष्ट छात्रा सुश्री विपनाकुमारी बूढालाई तीस हजार रुपियाँ राशि सहित ‘नइ कपिल विद्यापदक’ समर्पण गर्ने निर्णय गरेको छ । मालिका माध्यमिक विद्यालयकी छात्रा बूढालाई ३.२१ जिपिए प्राप्त भएको थियो ।
यसै गरी सोही परीक्षामा हुम्ला जिल्लाका सर्वोत्कृष्ट छात्रा सुश्री नन्दादेवी रोकायलाई तीस हजार रुपियाँ राशि सहित ‘नइ कपिल विद्यापदक’ समर्पण गर्ने निर्णय गरेको छ । सीता माध्यमिक विद्यालयकी छात्रा रोकायलाई ३.१५ जिपिए प्राप्त भएको थियो ।
नइ प्रकाशनका कुलपति श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो ।
‘नइ कपिल विद्यापदक’ सुप्रसिद्ध मनोरोग तथा नसा विशेषज्ञ डा.कपिलदेव उपाध्यायका सम्मानमा नइ प्रकाशनले स्थापना गरेको हो ।
नइ प्रकाशनले नेपालका विपन्न दुर्गम भूभागका सरकारी विद्यालयबाट बाह्र कक्षामा सर्वोत्कृष्ट हुने एकएक जना छात्रालाई हरेक वर्ष जनही तीस हजार रुपियाँ राशिसहित विद्यापदकले पुरस्कृत गर्दै आएको कुरा नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले बताउनु भएकोछ ।
Categorized in राष्ट्रिय

