STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

भक्तपुर चेम्बरको आकस्मिक रक्तदानलगायत स्वास्थ्य सेवाहरुको निरन्तरता

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ आषाढ ६, आइतबार

कोभिड– १९ नियन्त्रण तथा रोकथामको लागि सञ्चालित परमो धर्म अभियानलाई भक्तपुरमा तीब्र बनाइएको छ । विभिन्न संघसंस्थाहरूको सहकार्यमा भक्तपुर चेम्बर अफ कमर्स तथा भक्तपुर लायन्स सेवा समन्वय समितिले संयोजन गरेको अभियान अन्तर्गत अहिले सप्ताहव्यापी आकस्मिक रक्तदान कार्यक्रम भइरहेको छ । रगत संकलन गर्ने कार्यक्रममा ब्लोडान भक्तपुर र पायोनियर ओपन क्रूले सहकार्य गरेको छ ।

अभियान अन्तर्गत शनिबार थिमिको बालकुमारी (क्वलाखु) मा सम्पन्न रक्तदान कार्यक्रममा ४८ जना महानुभावहरुले रगत दान गरेको कुरा कार्यक्रम संयोजक तथा भक्तपुर चेम्बरका सदस्य जगत बहादुर श्रेष्ठले बताएका छन् । निषेधाज्ञा जारी भएको अवस्थामा रगत संकलन गर्नु सजिलो विषय नभएको कुरा पनि उनले बताए ।

यसअघि शुक्रबार कमलविनायक भक्तपुरको लान्चा फल्चाबाट रगत संकलन गरिएको थियो ।  आइतबार  सूर्यविनायक चोकबाट नगर प्रवेश गर्ने टुरिजम मार्केटमा रक्तदान सम्पन्न भएको छ ।

परमो धर्म अभियानले  कोभिडसँग लड्छौं, हामी सेवा दिन्छौं  नारा दिएर सेवा  सञ्चालन गरिरहेको छ । सोही अभियान अन्तर्गत जेठ १७ देखि विशेष किसिमको क्वारेन्टिन सेन्टर पनि सञ्चालन मा ल्याएको छ । सो क्वारेन्टाइन सेन्टरमा जेठको तेस्रो हप्तादेखि अक्सिजन सिलिन्डर उपलब्ध गराउँदै आएको छ । अभियानले चाँगुनारायण नगरपालिकाद्वारा सञ्चालित कोभिड– १९ आइसोलेसन सेन्टरका लागि नेपाल इन्जिनियरिंग कलेज (नेक) सँग सहकार्य गरेको छ । कोभिड बिरामीको लागि चौबिसै घण्टा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । त्यसको लागि हटलाइन नं. ९८६१७५६४६१ सार्वजनिक गरिएको छ।

त्यस्तै, भर्चुअल प्रविधिमार्फत सचेतना तथा परामर्श कार्यक्रम सञ्चालन गरि चिकित्सकीय परामर्शको लागि बिहान ७ देखि ९ बजेसम्म सम्पर्क गर्न सकिने गरी ९७४२८८२९६२, ९७४२८८२९६३ र ९७४२८८२९६४ हटलाइन नम्बरहरू सार्वजनिक गरिएको छ । अभियान अन्तर्गत भक्तपुरबासीहरूको लागि सुरक्षित तवरले ‘डोर टु डोर हेल्थ सर्भिस’ समेत सञ्चालन गरिरहेको छ ।

कोभिडविरुद्धको संयुक्त सेवा अभियानमा भक्तपुर जिल्ला प्याब्सन, भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघ, भक्तपुर डक्टर्स सोसाइटी, नेपाल नर्सिङ संघ, सीबीआर, भक्तपुर हार्ट एण्ड डायवेटिज सेन्टर, निरोग मेडिकल केयर एट होम, भक्तपुर पार्टी प्यालेस तथा क्याटरिङ संघ र त्रिनेत्र बचत तथा ऋण सहकारी संस्थाहरूले संस्थागत सहकार्य गरिरहेका छन् ।

Categorized in उपत्यका