STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

भारतले आफूलाई हटाउन षड्यन्त्र गरेको प्रधानमन्त्रीकाे आरोप

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ १४, आइतबार

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले राष्ट्रियताको पक्षमा कदम चाल्दा भारतले आफूलाई हटाउन षड्यन्त्र गरेको आरोप लगाएका छन्। आइतबार मदन भण्डारीको जन्मजयन्तीको अवसरमा बालुवाटारमा आयोजित कार्यक्रममा बोल्दै ओलीले राष्ट्रियताको विषयमा बोल्दा प्रधानमन्त्रीलाई हटाउँछु भनेर नसोच्न सुझाव दिए। ‘प्रधानमन्त्रीलाई कसैले हटाउँछु भनेको छ भने त्यो कसैले नसोचे हुन्छ, कसैले हतारो नगरे हुन्छ’, प्रधानमनत्री ओलीले भने, ‘नेपालको राष्ट्रियता त्यति कमजोर छैन, राष्ट्रियताको पक्षमा कदम चाल्दा प्रधानमन्त्री हट्न परोस्।’ ओलीले आफूलाई पदमा बस्ने मन नभए पनि राष्ट्रका लागि अनिवार्य भएको बताए। ओलीले आफू तत्काल हट्दा गलत नजिर स्थापित हुने बताए। भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूमी समेटेर नक्सा जारी भएपछि भारत रुष्ट छ। भारतले पछिल्ला दिनमा सरकार परिवर्तनकै लागि खेल खेलेको भन्दै ओलीले यस्तो अभिव्यक्ति दिएका हुन्। सरकारले भारतसँग सीमा विवादका विषयमा कूटनीतिक माध्यमबाट वार्ताको प्रयास गरे पनि भारतले कुनै प्रतिक्रिया दिएको छैन। प्रधानमन्त्रीको जिम्मेवारीमा बस्ने मन छैन। तर, म अहिले हट्ने हो भने गलत नजिर स्थापित हुन्छ’, ओलीले भने, ‘म हटुँला, तर भोलि कोही नेपालको पक्षमा बोल्दा अर्को दिन हट्ने अवस्था हुन्छ। त्यसैले म आफ्नो लागि होइन देशका लागि, आजका लागि होइन भोलिका लागि प्रधानमन्त्रीको जिम्मेवारीमा रहनुपर्छ।’ ओलीले आफूले नक्सा सच्याएकै नाममा हटाउने चलखेल भएको भन्दै त्यो नसोच्न चेतावनी दिएका हुन्। उनले दूतावास र होटलमा चलखेल बढेको खुलासासमेत गरेका छन्। ‘हामीले नक्सा सच्यायौँ। यसलाई संवैधानिक रूप दियौँ। भारतीय मिडिया र बुद्धिजीवीको कुरा सुन्नुभएकै होला। भारतको राज्यसंयन्त्र अचम्मसम्म सक्रिय छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यसका लागि होटेलमा गतिविधि भएका छन्। राजदूतावासमा सक्रियता बढेको छ।’
Categorized in राजनीति