मंगलबार रत्नपार्कदेखि सिसडोलसम्म सरसफाई पैदल यात्रा, सरकारलाई सांकेतिक रुपमा विरोधको उदाहरणीय यात्रा
Janjati Khabar – ललेन्द्र शाक्य | २०७८ भाद्र १३, आइतबार
केही दिनदेखि काठमाडौं उपत्यकाको फोहोर उठ्न नसकी ठाउँ ठाउँमा फोहोरका डुंगुरहरुले वातावरण दुषित बनाई रहेको अवस्था छ । उपत्यकाका ती फोहोरहरु काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, कीर्तिपुर नगरपालिका र अन्य नगरपालिकाले विसर्जनस्थल अर्थात् ल्याण्ड फिल साइड सिसडोलमा विसर्जन गर्न नसकिरहेको अवस्था छ ।
महानगरपालिकाले सिसडोल पुग्ने सतक बिग्रेका कारण त्यहाँसम्म फोहोर फाल्ने सवारीसाधनहरु जान नसकेका कारण देखाई जनसमुदायहरुलाई चोक चोकमा फोहोर नफाली घरबाट निस्कने फोहोर घरमैं व्यवस्थापन गर्न आह्वान गरेको छ ।
हाल फोहोर संकलन गरी जम्मा गर्ने अस्थायी स्थानहरुमा फोहोर भरिभराऊ भएका कारण नगरबासीहरुलाई फोहोर आ–आफ्नै घर घरमा व्यवस्थापन गर्न जनसमुदायलाई आह्वान गरेको हो ।
उपत्यकामा फोहोरै फोहोरको ताण्डव नृत्य भइरहेको अवस्थाका कारण नेवाः लहना विश्व सरसफाई अभियानका अभियन्ता कीर्तिपुर १ वडा थांबहाः टोलका राजमान मानव तथा सुशीला महर्जनको अगुवाईमा भाद्र १५ गते मंगलबार बिहान ८ बजे काठमाडौंको रत्नपार्कदेखि फोहोर सरसफाई गरी सिसडोलसम्म पैदल यात्रा गरी सिसडोलमा फोहोर विसर्जन गर्ने कार्यक्रमको आयोजना गर्ने भएको छ ।
नेवाः लहना विश्व सरसफाई अभियानका अभियन्ता राजमान मानव भन्नु हुन्छ, ‘सरकारले विगत १५ वर्षदेखि सिसडोलसम्म पुग्ने करिब ५० मिटर बाटो बिग्रेको मर्मत सम्भार गर्ने योजना बनाएको छ, तर हालसम्म पनि सरकारले जुन बिग्रेको बाटो बनाउनेतिर ध्यान दिएको छैन । त्यसैको फलस्वरुप वर्षातको समयमा त्यो सडकमा सवारीसाधन गुड्न नसकेको हो । त्यसैले सरकारलाई सांकेतिक रुपमा विरोध स्वरुप भाद्र १५ गते मंगलबार बिहान ८ बजे काठमाडौंको रत्नपार्कदेखि सरसफाई गर्दै सिसडोलसम्म पुगी फोहोर विसर्जन गर्ने कार्यक्रमको आयोजना गरेको हो ।’

कीर्तिपुरदेखि नेपाल अधिराज्य र नेपाल अधिराज्यदेखि विश्व सरसफाई गर्ने अभिलाषाका साथ विगत १४ वर्षदेखि निरन्तर रुपमा सरसफाई अभियानमा जीवन अर्पण गरिरहेका अभियन्ता राजमान मानव र सुशीला महर्जनले फोहोरजस्तो संवेदनशील पक्षलाई पनि सरकारले बेवास्ता गरिरहेको अवस्थामा फोहोर उठाउन माग गर्दै जुलुस धर्ना गरी विरोध गर्नुको सठ्ठा फोहोर सरसफाई गरी सिसडोलसम्म पैदल यात्रा गरी विसर्जन गर्ने कार्य पनि सरकारको लागि एक सांकेतिक विरोध नै हो । सरकारले बुझे राम्रो, नबुझे यो पनि एक आन्दोलन नै हो भन्नु हुन्छ । त्यसैले सरसफाई अभियन्ता राजमान मानव र सुशीला महर्जन भन्नु हुन्छ, ‘भाद्र १५ गते मंगलबार बिहान ८ बजे काठमाडौंको रत्नपार्कदेखि फोहोर संकलन एवं सरसफाई गरी सिसडोलसम्म पैदल यात्रा सांकेतिक विरोध कार्यक्रम सरकारसम्म पु¥याउनको लागि सम्पूर्ण संचारमाध्यमहरु एवं जनसमुदायहरुलाई रत्नपार्क उपस्थित हुन विनम्र अनुरोध गर्दछौं ।’
सरसफाई अभियन्ता राजमान मानव र सुशीला महर्जनको यो कार्य अवश्य पनि एक उदाहरणीय अभियानको रुपमा लिन सकिन्छ र सरकारको लागि सकारात्मक सांकेतिक विरोधाभासको व्यंग्यवाणको रुपमा सावित हुनेछ । सम्पूर्ण मिडियाले यो अभियानलाई सरकारसम्म पु¥याउने गरी समाचार सम्प्रेषण गरेको खण्डमा सरकार वाध्य भई सिसडोल पुग्ने बिग्रेको सडक खण्डको मर्मत सम्भार गर्नेतिर अग्रसर हुनेछ र उपत्यकाका फोहोरहरु ल्याण्ड फिल साइड सिसडोलमा चाँडै विसर्जन हुनेछ भन्ने पक्षतिर आशावादी हुनेछ उपत्यकाबासीहरु ।
Categorized in उपत्यका

