मदिरा उत्पादन गर्ने भाँडा किन्दै स्थानीय सरकार
Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र २१, बिहिबार
पश्चिम सुर्खेतका पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकाले स्थानीयवासीबाट अवैध घरेलु मदिरा उत्पादन गर्न प्रयोग हुने भाँडाकुँडा खरीद गर्न थालेका छन् । मदिरा नष्ट वा भाँडाकुँडा जफत गरेर उत्पादन नरोकिएपछि स्थानीय तहले सम्बन्धित घरधनीबाट भाँडाकुँडा खरीद गर्ने योजना ल्याएका हुन् ।
अवैध घरेलु मदिरा उत्पादन गर्नेले अब त्यस्ता सामग्री स्थानीय तहलाई बेच्नुपर्नेछ । सोबापत स्थानीय तहले नगद वा कृषि कर्मका लागि आवश्यक अनुदान उपलब्ध गराउनेछन् । घरेलु मदिरा उत्पादन तथा बिक्री वितरणको साटो व्यावसायिक कृषिसम्बन्धी प्रस्ताव पेश गरेमा ती स्थानीय तहले मल, बीउ, सिँचाइ सुविधा र बजारको ग्यारेन्टी गर्ने निर्णय गरेका छन् ।
पञ्चपुरीका नगर प्रमुख उपेन्द्रबहादुर थापाले घरेलु मदिराले समाजमा विकृति र आपराधिक घटना निम्त्याउन थालेपछि नियन्त्रणमा कडाइ गरिएको बताउनुभयो । “यसअघि मदिरा नष्ट गर्दा नियन्त्रण नभएपछि प्रोत्साहनका लागि मदिरा बनाउने भाँडा नै किन्ने निर्णयमा पुगेका हौँ,” उहाँले भन्नुभयो, “घरघरमै उत्पादन गरिने हुँदा विकृति–विसङ्गतिका घटना मात्र बढ्न थाले, त्यसको अन्त्यका लागि भाँडाकुँडा किन्ने जुक्ति निकाल्यौँ ।”
ती स्थानीय तहले मदिरा उत्पादन गर्नेलाई आत्मनिर्भर बनाउने योजना अघि सारेका छन् । चौकुनेका अध्यक्ष धीरबहादुर शाहीले मदिरा उत्पादनमा प्रयोग हुने भाँडाकुँडा स्थानीय तहलाई नबुझाए सरकारी सेवा–सुविधा रोक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “स्वतःस्र्फूत भाँडा बुझाए गाउँपालिकाले उहाँहरुलाई प्रोत्साहन रकम दिनेछ, यदि अटेर गरे थप जरिवाना तिर्न लगाइनेछ ।” यसैबीच पञ्चपुरी र चौकुनेबाट आव ०७५÷७६ को हालसम्मको अवधिमा तीन हजार लिटर घरेलु मदिरा नष्ट गरिएको छ ।
Categorized in राष्ट्रिय