STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

महिलाले गर्छन् परिवार र समाजको नेतृत्व

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १७, मंगलबार

उठ चेलीबेटी हो आँशु पुछेर
अझै कति आँशुमुनि बस्छौँ रुझेर।।।  
गायक रायन श्रेष्ठकोे यो गीतले घरभित्रै चुलो चौकामा सीमित हुने महिलालाई सक्षम बन्न प्रेरणा दिन्छ । केही वर्ष अगाडिसम्म यो गीतले ग्रामीण महिलाको अवस्थाबारे झल्काउँथ्यो तर अहिले उनीहरुको जीवनशैली फेरिएको छ । जिम्मेवारी बढेपछि कुनै समय घरभित्रै सीमित रहने महिला अहिले गाउँघर समाजको नेतृत्व गर्न थालेका छन् । 
ओखलढुङ्गाको खिजीदेम्बा–४ कातीगाउँकी कविता सार्कीका श्रीमान् बिखबहादुर सार्की सात वर्षदेखि कतारमा काम गर्दै हुनुहुन्छ । श्रीमान्ले सामान्य घरखर्च पठाए पनि बालबच्चा हुर्काउने र पढाउनेदेखि घर व्यवहार सम्हाल्ने र सामाजिक दायित्व निर्वाह गर्ने काम कविता गर्नुहुन्छ ।  
उहाँ भन्नुहुन्छ, “नानीहरु हुर्काएँ । पढाउन थालेको छु । अहिलेसम्म त गाउँ समाजका सबै काम भ्याउँदैछु । शुरुशुरुमा त म एक्लैले घर र समाजको जिम्मेवारी कसरी सम्हाल्लान् भन्ने डर थियो तर अब बानी भइसकेँ ।” 
कवितालाई आप्mनो घरको धन्दादेखि गाउँमा हुने विकास निर्माणसम्बन्धी छलफल र समूहको बैठक पुग्न भ्याइनभ्याइ हुन्छ । ओखलढुङ्गाका धेरै महिलाको अवस्था कविताकै जस्तो छ । यहाँका अधिकांश युवा रोजगारीका लागि अन्यन्त्र गएपछि गाउँ युवाविहीन भएका छन् । जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाको तथ्याङ्कअनुसार विगत तीन वर्षयता मात्रै २२ हजारभन्दा बढीले राहदानी बनाएका छन् । 
अहिले दैनिक १० देखि २५ जनाले जिल्ला प्रशासनबाट राहदानी बनाउने गरेको तथ्याङ्कले देखाउँछ । राहदानी लिनेमध्ये अधिकांश पुरुष कामका लागि विदेश जान्छन् । “राहदानी बनाउन आउने सबैलाई कुन प्रयोजनका लागि भनेर हामी सोध्छौँ । केहीबाहेक सबै रोजगारीका लागि खाडी मुलुक जाने गरेको पाइयो”, प्रमुख जिल्ला अधिकारी गणेश आचार्य भन्नुहुन्छ, “नागरिकता बनाउनेमध्ये अधिकांश युवाले सोही दिन राहदानी सिफारिस लिने गरेका छन् ।”
युवा विशेषगरी पुरुष नभएपछि यसअघि पुरुषले मात्र गर्ने गरेका काम महिलाले गरिरहेका छन् । कतिपयले आफ्नै व्यवसाय चलाएर अरु महिलालाई रोजगारीसमेत दिएका छन् । पुरुष नहुँदा परिवार चलाउनेदेखि गाउँमा हुने विकास निर्माण र सार्वजनिक सरोकारका विषयमा छलफल गरी निर्णय गर्ने काम पनि महिलाले नै गर्दै आएका छन् । 
“यहाँका महिला जुनसुकै काममा सक्रिय र जिम्मेवार भएर लागि रहनुभएको छ”, महिला अधिकारकर्मी सरस्वती कट्वाल भन्नुहुन्छ, “महिलाले गरेका धेरै काम उदाहरणीय छन् । सात वर्ष पहिले साविक कुन्तादेवी गाविसमा सडक बनाउने समितिको अध्यक्ष को हुन् भनी पुरुषबीचमा ठूलो विवाद भए पछि काम अघि बढ्न सकेन । त्यसपछि निर्मला वाग्लेको अध्यक्षतामा बनेको सडक निर्माण समितिले बिना विवाद कुन्तादेवी–मान्द्रेदोभान सडक समयमै बनायो । त्यही बेलादेखि जिल्लामा सडक निर्माणमा समान कामको समान ज्यालाको नीति लागू भयो । 
जिल्लाको सदरमुकाम बजारमा अम्बिका श्रेष्ठसहितका महिलाको नेतृत्वमा मन्दिर बन्यो । खिजीदेम्बा ४ कि वडाध्यक्ष आङपसि शेर्पा अहिले नमूना वडाध्यक्ष भनेर चिनिन्छिन् । गाउँपालिकाको पहिलो गाउँसभाबाट विनियोजन भएको बजेटबाट गाउँमा सडक निर्माण गरेर गाउँपालिकालाई सदरमुकामसम्म जोड्ने काम उहाँकै नेतृत्वमा भयो । महिलाको सकृयतामा जिल्लामा यस्ता थुप्रै काम भएका छन् । 
पुरुष मात्रले गर्ने भनिएका काम पनि ओखलढुङ्गाका महिलाले गर्न थालेका छन् । अधिकांश गाउँका महिला आफैँ गोरु नारेर खेतबारी जोत्छन् । “बुढा मलेशियामा छन्, छोराहरु शहरमा बसेर पढ्छन्”, गाँउको खेत बाँझो राख्न मिलेन । म आफैँ जोत्दैछु’ खिजीदेम्बाकी सावित्री सुनुवारले भन्नुभयो । शुरुमा उहाँले हलो जोतेको देखेर गाउँका सबैले खिल्ली उढाउँथे । अहिले अरुले पनि उहाँको सिको गरेका छन् । 
गाउँमा कोही मान्छे मरेमा मलामी जानसमेत युवा पाइँदैनन् । तर यहाँका महिलाले महिला मलामी जान नहुने भन्ने पुरानो परम्परा पनि तोडेका छन् । सुनकोशीकी मनमाला तामाङले भन्नुभयो, “पहिले–पहिले महिला मलामी जानुहुँदैन भन्ने चलन थियो तर अहिले महिला नै अघि नसरी हुँदैन ।” मलामी जाने मात्रै होइन बाबुआमाको काज किरियासमेत छोरीहरुले गर्न थालेका छन् । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–१ तलुवा की इन्दिरा कटवालले दुई वर्ष अघि आप्mना बुबाको किरिया गर्नुभयो । उहाँका दाजुभाइ हुनुहुन्नथ्यो । ठूलो बुबा, काका पनि गाउँमा नभएपछि इन्दिराले बुबाको किरिया गर्नुभएको हो । 
विसं २०७२ को भूकम्पले महिलाको काँधमा झन ठूलो जिम्मेवारी थपिदिएको छ । भूकम्पपछि अस्थायी बसोबासको चाँजोपाँजो मिलाउन लागि परेका महिला अहिले घर बनाउन जुटेका छन् । ओखलढुङ्गामा भूकम्पपछि दुई हजार ३०० ले घर बनाउने तालीम लिएकामा ९६० महिला थिए । सिकर्मी, डकर्मी तालीम लिएर उनीहरु अहिले घर बनाउँदैछन् । 
“काम पनि सिकियो, घर पनि बनाइयो”, चम्पादेवीकी सरस्वती थापाले भन्नुभयो । सरस्वतीजस्तै जिल्लाका अधिकांश भूकम्प प्रभावित महिला निजी आवास निर्माणमा जुटेका छन् । महिलाको सक्रियताले पुनःनिर्माण प्रभावकारी बनेको प्राधिकरण जिल्ला समन्वय एकाइका प्रमुख युवराज खरेलले बताउनुभयो । “यहाँका महिलाको जोश र जाँगर एकदमै रहर लाग्दो छ, महिला अघि बढेकैले पुनःनिर्माणले गति लिएको छ”, खरेलले भन्नुभयो । भूकम्पबाट अति प्रभावित १४ जिल्लामध्ये ओखलढुङ्गामा १५ हजार घर बनिसकेका छन् । 
जिल्ला, गाउँपालिका र गाउँमा रहेका आमा समूहका सञ्जालमा हरेक महीना बैठक बस्ने, चेतनामूलक कार्यक्रम चलाउने, महिलालाई विभिन्न खाले स्वास्थ्य तथा सरसफाइ र सीपमूलक तालीम दिनेलगायतका काम महिलाकै नेतृत्व र सहभागितामा हुने गरेका छन् । गाउँगाउँमा रहेका महिला तथा आमा समूह र अन्य समूहमा आबद्ध भएर महिला सक्रिय भएकाले राज्यले सञ्चालन गरेका कार्यक्रममा टेवा पुगेको खिजीदेम्बा गाउँपालिका–४ खिजीकातीका वडाध्यक्ष कमल न्यौपानेले बताउनुहुन्छ ।  
विसं २०६४ मा ओखलढुङ्गाको खिजीचण्डेश्वरी गाविसमा पहिलोपटक आमा समूह गठन भएको थियो । अहिले जिल्लाभर सबै गाउँ टोलमा गरेर ८० भन्दा बढी समूह छन् । ती समूहमा जिल्लाका ९९ प्रतिशत महिला आबद्ध भएको महिला विकास कार्यालयको तथ्याङ्कले देखाउँछ । समूह र समितिमा आबद्ध भएपछि महिलामा समस्या केन्द्रित छलफल गर्ने र सम्पत्ति बचत गर्ने बानी बसेको छ । 
सिद्धिचरण नगरपालिकाको महिला शाखा प्रमुख सरिता तामाङ भन्नुहुन्छ, “महिला विभिन्न समूहमा आबद्ध हुनुहुन्छ । उहाँहरुले आफ्ना समस्याबारे खुलेर गर्नुहुन्छ र समाधान पनि खोज्नुहुन्छ ।” ओखलढुङ्गाका आमा तथा महिला समूहहरु प्रजनन स्वास्थ्य, हिंसा र अन्य विकास निर्माणका विषयमा पनि छलफल गर्ने थलो भएका छन् ।  
Categorized in राष्ट्रिय