STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

माओवादी महाधिवेशन : निर्वाचन नगरी नयाँ नेतृत्व चयन

Janjati Khabar – Janjati Khabar | २०७८ पौष १८, आइतबार

निर्वाचनको प्रक्रियामै प्रवेश नगरी माओवादी केन्द्रले नयाँ नेतृत्व चयन गरेको छ । विधानतः २ सय ९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नुपर्नेमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २ सय ३६ जनाको मात्रै सूची पेस गरे ।

प्रदेश इन्चार्जहरूको सिफारिसमा समानुपातिक तर्फका विभिन्न क्लस्टरमा सदस्य थपेर महाधिवेशनबाट चयन हुने सदस्यको संख्या २ सय ६९ पुर्‍याइने अध्यक्ष प्रचण्डले बन्दसत्रमा जानकारी गराए । विधानअनुसारका बाँकी केन्द्रीय सदस्यको मनोनयन गर्ने अधिकार बन्दसत्रले केन्द्रीय कमिटीलाई दिएको छ । 

अध्यक्ष प्रचण्डले पेस गरेको सूची पारित भएसँगै अध्यक्ष मण्डलका अध्यक्ष कृष्णबहादुर महराले महाधिवेशन सकिएको घोषणा गरेका छन् ।

प्रचण्डले प्रस्ताव गरेका केन्द्रीय सदस्यले औपचारिकताका लागि मनोनयनपत्र भने भर्नुपर्ने एक नेताले बताए । कमिटीमा नपर्ने नेताका लागि भने मनोनयनको ढोका बन्द भएको छ ।

महाधिवेशनले चयन गर्न बाँकी रहेका ३० केन्द्रीय सदस्य अब बस्ने केन्द्रीय समिति बैठकले मनोनित गर्ने छ । त्यस्तै, विधान अनुसार, मनोनित गर्नुपर्ने १५ प्रतिशत सदस्य पनि केन्द्रीय समितिले मनोनित गर्नेछ । माओवादी विधानले केन्द्रीय कमिटीले पार्टी पदाधिकारी चयन गर्ने व्यवस्था छ ।

Categorized in राजनीति