STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मिटर रिडिङ समयमा नहुँदा सेवाग्राहीलाई सास्ती

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र ९, सोमबार

हरेक महीना सेवाग्राहीहरुको घरमा पुगेर मिटर रिडिङ गर्नुपर्ने नेपाल विद्युत् प्राधिकरणको प्रावधान रहे पनि यहाँस्थित विद्युत् कार्यालयका कर्मचारीको बेवास्ताका कारण सेवाग्राहीले सास्ती खेप्नु परेको छ । कञ्चनपुरको भीमदत्तनगरस्थित नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रका कर्मचारीहरु मिटर रिडिङका लागि नआउँदा भीमदत्तनगरपालिका–१८ का स्थानीयबासीहरुलाई विद्युत् महसुल बुझाउन सकस भइरहेको बताउँछन । रिडिङ फाँटमा कर्मचारी अभावका कारण घर–घरमा पुगेर मिटर रिडिङ गर्न समस्या भइरहेको बताइए पनि भएका कर्मचारी पनि चार÷छ महीनामा एक पटक मात्रै रिडिङका लागि आउने गरेको भीमदत्तनगरपालिका–३ भगतपुरका नवराज भण्डारीले बताउनुभयो । “घरमा मिटर रिडिङ नभएको छ महीना बितिसक्यो, समयमा रिडिङ नहुँदा समस्या हुँदैछ, मिटर रिडिङका लागि कर्मचारी यहाँ आउँदैनन् ”, भण्डारीले भन्नुभयो, “विद्युत् कार्यालयमा गएर आफैँले रिडिङ गराएर महसुल बुझाउनु पर्ने अवस्था छ, चार÷पाँच महीनामा रिडिङ गर्न आए पनि अन्दाजमा तीन महीनाको अङ्क हालेर जान्छन ।” अन्दाजमा रिडिङ गर्दा कम तिर्नुपर्ने ठाउँमा बढी रकम तिर्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । पचास घरधुरी रहेको भगतपुरस्थित भण्डारी टोलमा चार महीनायता मिटर रिडिङ नभएको स्थानीयको भनाइ छ । विद्युत् कर्मचारी समयमै मिटर रिडिङमा नआउँदा जिल्लाभरि समस्या छ । भगतपुरका अर्का स्थानीय भीमराज भण्डारीले तीन महीनायता घरमा मिटर रिडिङ नभएको बताउनुभयो । उहाँले पनि विद्युत् कर्मचारीहरु मिटर रिडिङ गर्न नआउँदा आफैँ कार्यालय धाउनुपरेको जानकारी दिनुभयो । “एकैचोटि हजारौँ रकम महसुल बुझाउँदा व्ययभार थपिने गरेको छ”, उहाँले भन्नुभयो, “महसुल समयमा नबुझाउँदा २५ प्रतिशत जरिवाना तिनुपर्ने अर्को बाध्यता छँदैछ ।” विद्युत् महसुल बुझाउन पनि सेवाग्राहीले घण्टौँ लाइन बस्नुपर्ने बाध्यता लामो समयदेखि यथावत रहेको सेवाग्राहीको भनाइ छ । महसुल बुझाउनका लागि नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रले ‘कुपन सिस्टम’ गरेपनि सेवाग्राहीसमेत नभएको सेवाग्राहीको गुनासो छ । वेदकोट नगरपालिका–९ का भालु रानाले विद्युत् महसुल बुझाउन दिनभर लाइन बस्नुपर्ने बाध्यता यथावत रहेको बताउनुभयो । “महसुल बुझाउन यहाँ दुई वटा मात्रै काउन्टर राखिएका छन”, रानाले भन्नुभयो, “काउन्टर कम सेवाग्राही अत्यधिक भए ।” महेन्द्रनगर बजार, दोधारा चादँनी, झलारी कलुवापुर, कृष्णपुरसम्म महेन्द्रनगर वितरण केन्द्रका ५५ हजार सेवाग्राही छन् । प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रका प्रमुख जङ्गबहादुर चन्दले हरेक महीना मिटर रिडिङ गर्नुपर्ने प्रावधान रहे पनि केही दिन ढिलाइ हुने गरेको बताउनुभयो । “रिडिङको सहजताका लागि रुट मिलान कार्य भइरहेको छ”, चन्दले भन्नुभयो, “घरहरु टाढा टाढा हुँदा पनि समस्या हुन्छ ।” उहाँले ग्राहक बढी र मिटर रिडिङ गर्ने कर्मचारीको सङ्ख्या कम भएकाले ढिलाइ हुने गरेको बताउनुभयो । महेन्द्रनगर वितरण केन्द्रमा मिटर रिडिङमा ३२ कर्मचारी छन् । यस वितरण केन्द्रअन्र्तगत २० क्षेत्र तोकिएका छन ।
Categorized in राष्ट्रिय