म जाँच दिन सक्षम भएँ, अब नतिजा ५ वर्ष पछि : रवि लामिछाने
Janjati Khabar – Janjati Khabar | २०७९ मङ्सिर ८, बिहिबार
काठमाडौँ - भारी मतान्तरका साथ प्रतिनिधिसभा विजयी भएका रवि लामिछानेले आफ्ना मतदातालाई धन्यवाद दिएका छन् ।
विजयपछि फूलमाला र विजय र्याली गर्न नचाहेको बताउँदै उनले भनेका छन्, ‘राजनीतिमा निर्वाचित हुनु भनेको विजयी हुनु होइन। यो त जाँच दिन जानका लागि सक्षम हुनु मात्र हो। म आज बाट जाँच दिन जाँदै छु, जसको नतिजा ५ वर्ष पछि मात्र आउँछ। म जनता लाई जिताउने जाँच दिन जादैछु त्यसैले म अहिले नै विजय र्याली गर्न चाहन्नँ।’
उनले विजय र्यालीको साटो आजै ३ बजे भरतपुर- १० गेस्ट हाउस चौरमा र भोलि ११ बजे इच्छाकामना गाउँपालिका कार्यालय अगाडिको फुट्बल ग्राउन्ड कुरिनटारमा धन्यवाद सभा गर्न लागेका जानकारी दिएका छन् । साथै भोलि ३ बजे सहिद स्मृति क्याम्पस चौर पदमापुर कालीकामा पनि धन्यवाद सभा गर्न लागेका छन् ।
‘एउटा अनुरोध, कृपया त्यहाँ आउँदा मेरा लागि फूलमाला, अबिर, खाँदा केही पनि नल्याउनुहोला,’ उनले भनेका छन्, ‘म आजबाटै काम थाल्दैछु। मेरो सभा हुने ठाँउहरुमा २ वटा बाकस हुनेछन्। एउटा बाकसमा ‘समस्या पेटिका’ लेखिएको हुनेछ। त्यसमा तपाईंका समस्या लेखेर खसाउनु होला। अर्को बाकसमा ‘उजुरी, समस्या, सुझाव पेटिका’ लेखिएको हुनेछ। त्यसमा, भ्रस्टाचारीका सुचना, मैले गर्नु पर्ने काम, मलाई खबरदारी लेखेर खसाउनु होला।’
उनले माला, अबिर, खादामा गरेको खर्च प्रायः सबै विदेश जाने गरेको भन्दै केही पनि नल्याउन आग्रह गरेका छन् । ल्याउनै मन भए मन भए आफ्नै आँगन वा बाटोको एक थुङ्गो फूल भए आफूलाई स्वीकार्य हुने उनले बताएका छन् ।
उनले थप भनेका छन्, ‘म छिटोभन्दा छिटो काममा लाग्न चाहन्छु। भोट माग्न, र्याली गर्न आउन नभ्याएका ठाउँमा म काम गर्न आउछु।’
Categorized in राजनीति

