STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

रासस अध्यक्ष धर्मेन्द्र झाले गरे पदबहाली

Janjati Khabar – Janjati Khabar | २०७९ आषाढ १२, आइतबार

काठमाडौँ - राष्ट्रिय समाचार समिति (रासस)का नवनियुक्त कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले आफूले राससमा प्रभावकारीरूपमा काम गर्न समूहगत सहकार्य आवश्यक हुने बताएका छन् ।

उनले समूहगत सहकार्यले राससमा चुनौतीलाई पनि अवसरमा बदल्ने बताए ।

आज (आइतबार) पदबहाली गर्दै झाले राससमा योग्य, सक्षम जनशक्ति रहेको भन्दै देशको आमूल परिवर्तनलाई राससले अवसरका रूपमा लिने बताए ।

‘यो संस्था जनताको करबाट सञ्चालन भएको हो भन्ने हेक्का राख्नुपर्छ,’ उनले भने, ‘म राससमा दायित्वबोध गरेर आएको छु, समूहगत सहकार्यलाई जोड दिने छु । सकारात्मक परिणाम आउने छ ।’

लामो समयदेखि पत्रकारितामा क्रियाशील झा कोसी अनलाइनको प्रधानसम्पादक र नेपाल पत्रकार महासंघको पूर्वकेन्द्रीय अध्यक्षसमेत हुन् ।

रासस महाप्रबन्धक सिद्धराज राईले अध्यक्ष झालाई स्वागत गरे । उनले अनुभवी र वरिष्ठ व्यक्ति रासस अध्यक्षका रूपमा आउनुुले सञ्चार क्षेत्रमा राससले उचाई लिने विश्वास व्यक्त गरे ।

असार ६ को मन्त्रिपरिषद् बैठकले झालाई चार वर्षका लागि राससको कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । २०४३ सालमा भित्ते पत्रिकाबाट प्रकाशनबाट पत्रकारिता थालेका झाले अन्नपूर्ण पोस्ट दैनिक, हिमालय टाइम्स दैनिक, हिमालय टिभीलगायत मूलधार र मोफसलका दर्जनौँ मिडियामा उच्च तहमा रहेर काम गरिसकेका छन् ।

पत्रकारिताका प्रशिक्षकसमेत रहेका झा सूचनाको हकको अभियान्ता पनि हुन् । मिडिया टेक्नोलोजीमा स्नातकोत्तर हासिल गरेका उनले दर्जनौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका तालिममा विज्ञको भूमिका निर्वाह गरिसकेका छन् ।

Categorized in राष्ट्रिय