STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

लोपोन्मुख लायकू भैलः ३२ गतेदेखि सञ्चालन हुने, तयारी पुरा

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण २९, बुधबार

मध्यपुरको लोपोन्मुख लाय्कू भैलः लायकू भैरव नृत्य यो वर्ष साउन ३२ गतेदेखि शुरु हुने भएको छ । गाईजात्राको भोलिपल्टदेखि शुरु हुने लायकू भैरव नृत्यका लागि आवश्यक तयारी पूरा भएको लाय्कू भैलः नाच व्यवस्थापन समितिले जानकारी दिएको छ । रोकिएको ४७ वर्षपछि ०७२ सालमा पहिलोपटक लायकू भैलः भक्तपुरका टोलटोलमा देखाइएको थियो । त्यसपछि पनि लगातार दुई वर्ष भैरव नृत्य प्रदर्शन गरियो । तर ०७५ सालमा भक्तपुरका प्रजापति समुदायले पनि भैरव नृत्य प्रस्तुत गर्ने भएपछि लायकू भैरव नृत्य त्यस वर्ष नदेखाइएको समितिले जनाएको छ । लायकू भैरवको नृत्य भक्तपुरको मध्यपुर थिमीका विभिन्न टोलमा देखाइन्छ । नेपाल भाषामा लायकू भैलः प्याखँ भनिने लायकू भैरव नृत्य मल्लकालमा सुरु भएको मानिन्छ । हरेक वर्षको साःपारु गाईजात्रा लगत्तै चार दिन यो भैरव नृत्य देखाइन्छ । लायकू भैरव नृत्यमा लायकू भैरव र कुमारी २÷२ जना र ज्यापु गःचा १ जना गरी ५ जना कलाकार हुन्छन् । नृत्यमा बाजामध्ये दागःखिँ १२ जनाले बनाउँछन्, ८ जनाले प्वंगा बजाउने, ८ जनाले भुस्याय् बजाउने र ४ जनाले म्वाहाली ९सहनाई० बजाउने गर्छन् । यी सबै बाजा ३२ प्रकारका तालमा बजाइन्छ र तिनै बाजाको तालमा लायकू भैरव नृत्य चार दिनसम्म चल्छ । लायकू भैरवको नृत्यका लागि अहिले थिमिको ऐतिहासिक दरबारमा प्रशिक्षण भइरहेकोे छ । मध्यपुरथिमिको लायकू दरबारबाट निस्किएर यो नाच बालकुमारी मन्दिर प्राङ्गणलगायत विभिन्न टोलमा चार दिनसम्म प्रत्येक साँझदेखि राति अबेरसम्म सञ्चालन हुने गर्दछ । तान्त्रिक विधिअनुसार नचाइने यो नृत्य नेपाल संवत् तिथिअनुरुप गुंलागा द्वितीयादेखि पञ्चमीसम्म चार दिन नचाइन्छ । यो वर्ष साउन ३२ गते शनिबारदेखि भदौ ३ गतेसम्म सञ्चालन हुने नाच व्यवस्थापन समितिका संयोजक तथा बाजा गुरु अर्जुन श्रेष्ठले जानकारी दिनुभयो । भैलः दुई, दागिं दुई र ज्यापुग एक गरी पाँच देवगण सहभागी हुने नाचका लागि यो वर्ष ज्यापुगः कलाकारका लागि सोहन श्रेष्ठ, न्हापा भैलः विनोद श्रेष्ठ, लिपा भैलः सजन श्रेष्ठ, न्हापा दागिं सज्जन श्रेष्ठ तथा लिपा दागिंका रुपमा सोनिश श्रेष्ठले नृत्य गर्ने भएका छन् । यसका लागि हरेक साँझ प्रशिक्षण भइरहेको छ । भैरवले खड्ग, कुमारीले डमरु र ज्यापुगःले कपासको बियाँ, अक्षता र चामल भुटेर तयार गरिएको ताय् भएको भाँडो, हातमा लिएर बाजाको तालमा हाउभाउ प्रस्तुत गर्दै नृत्य गरिन्छ । नाचका क्रममा भैलः र दागिंले क्रोधित मुद्रा प्रस्तुत गरेपछि ज्यापुगः बनेका कलाकारले ज्यापुगःले हानेर शान्त बनाइन्छ । नृत्यका लागि बाजा बजाउने टोलीमा १२ जनाले दागः, आठ जनाले भुस्याः, आठै जनाले पोङ्गा र चार जनाले म्वायेली बजाइन्छ । तत्कालीन अवस्थामा भूतप्रेत, पिसाचसँगको किंवदन्ती जोडेको भैलः नृत्य सञ्चालनका लागि हरेक पटक करीब रु १० लाख खर्च हुँदै आएको छ । व्यवस्थापन समितिले स्थानीय स्रोतबाट आर्थिक व्ययभार धान्दै आएको छ । ऐतिहासिक र धार्मिक महत्व बोकेको यो नृत्यलाई दिगो बनाएर संवद्र्धन गर्न व्यवस्थापन समितिले अक्षयकोषको व्यवस्था गरेको छ । अक्षयकोषमा १३ लाख नगद जम्मा भइसकेको सहसंयोजक निरञ्जन श्रेष्ठले जानकारी दिनुभयो । कसरी ४७ वर्ष रोकियो नृत्य रु यो भैरव नृत्य ०२५ सालमा रोकियो । कारण थियो– तीन वर्षअघि गरेको नापीको आधारमा ०२४ सालमा भूमिसुधारले नृत्यका गुठीयारहरुको जग्गा रैतानी बनाइदिनु । गुठीको जग्गा मासिएपछि भैरव नृत्यका पःमा ९प्रधान नाइके० हरुको आयस्तर नै खोसियो । नृत्यका लागि रकम अभाव भएर नृत्य रोकियो । त्यसपछि ४७ वर्षसम्म नृत्य रोकिएसँगै नृत्य सिकाउने, बाजा बजाउने र बाजा बजाउन सिकाउने गुरुहरु पनि एक एक गर्दै बिते र नृत्य सिकाउने कोही बाँकी रहेन । यसका साथै नाचमा लगाउने मखुन्डा नष्ट भए । नृत्यका गरगहना पोसाक नष्ट भए, हराए । फलस्वरुप नृत्य नै लोपप्रायः भयो भन्दा पनि हुन्छ भन्छन् संयोजक अर्जुन श्रेष्ठ । फेरि कसरी सुरु भयो लायकू भैरव नृत्य रु केही व्यक्तिहरु जो नृत्यबारे जानकार थिए, उनीहरू यसलाई फेरि ब्युँताउने प्रयासमा थिए । यसका लागि उनीहरूले झन्डै दुई वर्ष निरन्तर प्रयास गरे । यसबीच उनीहरुलाई दैवले नै सघाए भन्दा पनि फरक नपर्ला । उनीहरुको प्रयासबीच ढुंगो खोज्दा देउता भेटेजस्तै भयो, जतिबेला उनीहरुले लायकू भैरव नृत्यबारे एउटा अत्यन्त दुर्लभ र लुकाइएको पुस्तक भेट्टाए । पुस्तकमा लायकू भैरव नृत्यबारे आवश्यक सबै जानकारी उल्लेख गरिएको थियो । नृत्यविधि, नाच्नेले लगाउने मखुन्डो बनाउने विधि, कलाकारका पोसाक र गरगहनासम्बन्धमा विस्तृत रुपमा सबै जानकारी पुस्तकमा उल्लेख रहेको छ । अहिले त्यही पुस्तकका आधारमा भैरव नृत्य ब्युँताइएको संयोजक अर्जुन श्रेष्ठ बताउँछन् । उहाँका अनुसार नृत्यसम्बन्धी पुस्तक तान्त्रिक विधिले तयार पारेको हुनाले सबैलाई देखाउन हुँदैन ।
Categorized in राष्ट्रिय