STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

व्यावसायिक खेतीका लागि माटो परीक्षण

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २४, शुक्रबार

माटोको उर्वराशक्तिअनुसार व्यावसायिक खेती लगाउने उद्देश्यले जन्तेढुङ्गा गाउँपालिकामा माटो परीक्षण शुरु गरिएको छ । गाउँपालिकाभित्रका हरेक ठाउँका माटोको अवस्था र उर्वराशक्तिबारे जानकारी लिएर सोहीअनुसारको खेती गर्ने उद्देश्यले माटो परीक्षण शुरु गरिएको हो । गाउँपालिकाभित्रका छ वटै वडाका माटोको प्रकृति पत्ता लगाएर सो स्थानमा उत्पादन हुने उपयुक्त कृषि बाली सिफारिशका लागि यही जेठ १९ गतेदेखि किटबक्स विधि प्रयोग गरेर माटो परीक्षण शुरु गरिएको गाउँपालिका अध्यक्ष शङ्कर राईले बताउनुभयो । “गाउँपालिकामा कृषिसम्बन्धी गुरुयोजना निर्माण भइरहेको छ”, उहाँले भन्नुभयो, “निर्माणाधीन गुरुयोजनालाई व्यवस्थित र उपलब्धिमूलक बनाउन सबै वडाको माटो परीक्षण शुरु गरिएको हो ।” माटो तथा मल परीक्षण प्रयोगशालाको कार्यालय झुम्काको प्राविधिक टोलीको सहयोगमा हरेक वडामा माटोमा भएको नाइट्रोजन, फस्फोरस, पोटास, प्राङ्गारिक पदार्थ एवं माटोको पिएच मापनको काम भइरहेको जनाइएको छ । माटो परीक्षणसँगै किसानलाई माटोको प्रकृतिअनुसार उपयुक्त बालीनाली लगाउन प्रमाणपत्रसमेत प्रदान गरिएको छ । अहिले हरेक वडाका २०० किसानले ल्याएका फरक–फरक स्थानको माटो परीक्षणका काम भइरहेको जनाइएको छ । माटोमा भएका उर्वराशक्तिलाई थप बिग्रन नदिनुका साथै सुधारका काम गर्न पनि परीक्षण उपयोगी हुने प्राविधिक टोलीको जनाएको छ । प्राविधिकको टोलीले बालीनालीका लागि आवश्यक पर्ने खाद्य तत्वका बारेमा पहिचान गरेर सुहाउँदो मल, बीउ एवं विषादी प्रयोगका बारेमा समेत कृषकलाई सिफारिश गरिरहेको गाउँपालिका प्रमुख राईले बताउनुभयो । गाउँपालिकाले कृषि क्षेत्रको व्यवसायीकरण गर्ने उद्देश्यकासाथ प्राथमिकताका आधारमा काम गरिरहेको जनाएको छ ।
Categorized in राष्ट्रिय