STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

संघीय गठबन्धनको आन्दोलन घोषणा, असोज ३ गते संविधान जलाइने

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ २८, आइतबार

काठमाडौं – पहिचानमा आधारित संघीय गठबन्धले हिजो शनिबार संवाद डबलीको पत्रकार सम्मेलनमा विभिन्न आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । यसमा असोज ३ गतेलाई कालो दिवसको रुपमा मनाउन संविधानको पुस्तक जलाउनेसम्मको आन्दोलन रहेको छ । तीन महिनाअघि कोरोना भाइरसको कारण स्थगन भएको आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिन गठबन्धनआबद्ध ९ वटा जनजाति पार्टीहरुका ९ घटकले आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । नेपाः राष्ट्रिय पार्टीका अध्यक्ष डा. विजयप्रकाश सैंजुको सभापतित्वमा भएको पत्रकार सम्मेलनमा विशेष गरी देशमा विद्यमान भ्रष्टाचार, महँगी, उपत्यकाको सांस्कृतिक सम्पदा ध्वस्त गर्नेलगायत खोकनामा फास्ट ट्र्याक बनाई स्थानीय मूलबासीको जग्गा अधिग्रहण गर्न लागेका घटनाहरुको विरोध गरिएको थियो । सैंजुको विषयप्रवेश मन्तव्यपछि सुरु भएको पत्रकार सम्मेलनमा खम्बुवान राष्ट्रिय मोर्चाका अध्यक्ष आर.के. खम्बु, लिम्बुवानका अध्यक्ष कुमार लिंग्देन, थरुहट मोर्चाका संयोजक लक्ष्मण थारु, नेपाल लोकतान्त्रिक पार्टीका अध्यक्ष भानुराम थारु, तराइ मधेस राष्ट्रिय परिषदका अध्यक्ष अधिवक्ता विकासकुमार ठाकुरलगायतले मन्तव्य राखेका थिए । सम्मेलनपछि दिइएको प्रेस विज्ञप्तिमा साउन महिनाभर कोणसभा र विभिन्न क्षेत्रमा सभा गरी प्रचारात्मक कार्यक्रम तय गरिएको उल्लेख छ । यसमा साउन १० गते कैलालीको धनगढी, १७ गते बाँकेको कोहलपुर, २४ गते नवलपरासी, ३१ गते रौतहटमा विरोध कार्यक्रम राखिएको जनाइएको छ । यसैगरी साउन २४ गते नेपाल सरकारलाई ज्ञापन पत्र बुझाउने, साउन २५ गते सत्तापक्ष र प्रतिपक्षलगायत विभिन्न पार्टीहरुलाई स्मरणपत्र बुझाउने कार्यक्रम पनि तय गरिएको छ । साथै विभिन्न कूटनीतिक निकायका पदाधिकारी भेटी आन्दोलनको उद्देश्य बुझाउने कार्यक्रम रहेको वक्तव्यमा उल्लेख छ । यसैगरी भदौ २ गते मानव अधिकार तथा नागरिक अगुवासँग काठमाडौंमा गोलमेच सम्मेलन, भदौ ७ गते टिकापुर थरुहट विद्रोहको स्मरणमा राजधानी केन्द्रित विरोध कार्यक्रम राखिएको छ । टिकापुर हिंसात्मक घटना भएको दिन भदौ ८ गते कालो दिवसको रुपमा देशव्यापी विरोध कार्यक्रम एवं मसाल जुलुस गरिने पनि वक्तव्यमा उल्लेख छ । यसैगरी, असोज ३ गते संविधान दिवसलाई कालो दिवसको रुपमा मनाउने र ‘पहिचानविरोधी’ विभिन्न धारासहित संविधानको पुस्तिका जलाउने कार्यक्रम पनि रहेको वक्तव्यमा उल्लेख छ ।
Categorized in राजनीति