समाजवादी मोर्चा घोषणा, हामीमा लागेका धुलो मैलो सफा हुन्छ : प्रचण्ड
Janjati Khabar – Janjati Khabar | २०८० आषाढ ४, सोमबार
काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी मोर्चामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा पनि मिसिएपछि मोर्चाको दूरगामी प्रभाव देखिएको ठोकुवा गरेका छन् ।
सोमबार समाजवादी मोर्चा घोषणा कार्यक्रममा बोल्दै प्रचण्डले विप्लव नेतृत्वको पार्टी मिसिएको यो मोर्चाको गुणात्मक र दूरगामी महत्व बढेको बताउँदै संसदमा लागेकाहरुको धुलोमैलो सफा गर्ने मद्धत मिलेको पनि बताए ।
उनले भने, ‘विप्लव नेतृत्वको पार्टी मिसिएको यो मोर्चाको गुणात्मक महत्व छ । हामी संसदमा लागेकाहरुमा केही धुलोमैलो लागेको छ । सायद विप्लव कमरेडजस्ता पार्टीहरु मोर्चामा आउँदा हाम्रो धुलो मैलो सफा गर्न पनि मद्धत हुन्छ भन्ने मलाई लाग्छ । त्यसैले आजको मोर्चाको गठन र दूरगामी छ, क्षणिक छैन । दुःख, कमजोरी सबैबाट पाठ सिक्दै प्रतिगमनविरुद्ध यो मोर्चा गठबन भएको हो ।’
मोर्चा अन्तिम नभइ पहिलो पाइला भएको पनि उनले बताएका छन् । साथै, विगतमा हतारमा पार्टी एकता गरेर व्यवहारमा सफल बनाउन नसकेकोमा अबको विकल्प मोर्चा नै रहेको उनले बताए ।
उनले भने, ‘समाजवादी मोर्चा पहिलो पाइला हो अन्तिम पाइला हो । नयाँ युगतिर देशलाई लैजाने प्रक्रियाको सुरुवात भएको छ । हिजो हतारमा एकता गरेर व्यवहारमा सफल बनाउन नसकेका सबै पार्टी र नेताहरुलाई पनि हामी मोर्चाको बाटोबाट जाआँै । वैज्ञानिक बाटोबाट जाऔँ । अन्य वामपन्थी, प्रगतिशील दललाई यो मञ्चबाट अपिल गर्न चाहन्छु । सबैले आत्मसमीक्षा गरौँ ।’
निर्वाचनअघि नै तीन दलबीच समाजवादी मोर्चा अघि बढाउने छलफल भएको थियो तर, विविध कारण असम्भव भएको उनले बताए । यद्यपि, अहिले विप्लव नेतृत्वको माओवादी पनि समाजवादीमा मिसिएकोमा उनले यसको दूरगामी प्रभाव झनै देखिएको बताए ।
कसैसँग मुकाविला गर्न मोर्चा निर्माण गरिएको हैन : माधव कुमार नेपाल
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कसैसँग मुकाविला गर्नका लागि समाजवादी मोर्चा निर्माण नगरिएको बताएका छन् ।
कांग्रेसलाई तर्साउन र एमालेसँग मुकाविला गर्नका लागि मोर्चा बनाउन लागिएको टिप्पणी एमाले अध्यक्ष केपी ओलीले गरेको स्मरण गराउँदै उनले यस्तो भनाई राखेका हुन् ।
सोमबार काठमाडौंमा आयोजित ‘समाजवादी मोर्चा, नेपाल’ घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले प्रतिगमनका विरुद्धमा भने मोर्चाले डटेर सामना गर्ने बताए ।

मोर्चा कसैलाई तर्साउन र मुकाविला गर्नका लागि नभएको नेपालको भनाई थियो । उनले प्रतिगमनमा पक्षमा नभएकाहरु मोर्चासँग डराउन सक्ने जिकीर समेत गरे ।
अध्यक्ष नेपालले भने, ‘यो मोर्चा स्वार्थको मोर्चा होइन । यो मोर्चा सिद्धान्तहिन मोर्चा होइन । यो मोर्चा विचारहिन मोर्चा होइन । यसको प्रष्ट उद्देश्य छ । त्यो उद्देश्य भनेको के हो भने प्रतिगमनका विरुद्धमा र यथास्थितिको विरुद्धमा परिवर्तनका लागि एकतावद्ध हुने सम्पूर्ण देशभक्तहरु र समाजवादी शक्तिहरुलाई हामी एकतावद्ध बनाएर लैजान चाहन्छौं । मैले सुनिरहेको छु–केहीकेही नेताहरुलाई परेको रहेछ कि यो मोर्चा अहिले बनेको छ । त्यसको पछाडि दुईटा कुरा होला । कसैलाई तर्साउन र कसैको मुकाविला गर्न । यो कसैलाई तर्साउन पनि गरेको होइन । कसैको मुकाविला गर्नका लागि पनि होइन ।’
अध्यक्ष नेपालले अग्रगमनका पक्षधर सबै शक्तिहरुलाई मोर्चामा आबद्ध हुन पनि आह्वान गरे । सत्तापक्ष र सत्ता बाहिर रहेका दल सहभागी रहेको मोर्चाले सबै शक्तिहरुलाई समेटने सामथ्र्य राखेको पनि उनले बताए ।
अध्यक्ष नेपालले देशभक्त र क्रान्तिकारी शक्तिहरुसँग हातेमालो गर्दै अघि बढाउने योजना मोर्चासँग रहेको समेत बताए । उनले भने, ‘कमरेड विप्लवलाई मात्रै होइन, अरु समूह पनि छुटनु भएको छ भने उहाँहरुलाई पनि हामी हार्दिक स्वागत गर्न चाहन्छौं–आउनुस् हातेमालो गरौं । नआत्तिनोस् । नतर्सिनुहोस् । हामी तर्साउन चाहदैनौं । घुक्र्याउन पनि चाहदैनौं । र, हामीलाई मुकाविला पनि गर्नु छैन । हाम्रो जहिले पनि साथ अग्रगमनको पक्षमा हुनेछ । यसैकारण अग्रगमनका पक्षधर हामी शक्तिहरु एक भएर उभिएका छौं ।’
अध्यक्ष नेपालले समाजवादी शक्तिमा रहेका जनताको प्रभावलाई विस्तार गर्न पनि आफूहरुले सो मोर्चा निर्माण गरेर अघि बढने निर्णय लिएको बताए ।
Categorized in राजनीति

