सरकार गठनको तीन वर्ष पूरा, आज प्रधानमन्त्रीले देशवासीको नाममा सम्बोधन गर्दै
Janjati Khabar – Janjati Khabar | २०७७ फाल्गुण ३, सोमबार
काठमाडौं – वर्तमान सरकार गठन भएको आज तीन वर्ष पुरा भएको छ । प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि तीन वर्ष पहिले २०७४ साल फागुन ३ गते केपी शर्मा ओलीको नेतृत्वमा वर्तमान सरकार गठन भएको हो ।
यसै अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले तीन वर्षमा गर्दै आएको काम र प्राप्त उपलब्धीकाबारे आज देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री ओलीले भर्खरै प्रबलीकरण पश्चात पुनस्थापित गरिएको सिंहदरबारस्थित पुरानै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट आज बिहान ११ बजे सम्बोधन गर्ने भएका छन् ।
झण्डै दुई तिहाई बहुमत पाएको सरकार गठन भएपछि समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा राखेर पूर्वाधार विकास , सामाजिक न्याय सहित समतामूलक समाज निर्माण एवं आर्थिक क्रान्ति सहित सरकारले नीति तथा कार्यक्रम अघि सारेको थियो ।
तीनै नीति तथा कार्यक्रमको जगमा रहेर राष्ट्र र जनता हितका पक्षमा विभिन्न कार्यहरु भएका छन् । कालापानी, लिपुलेक र लिम्पियाधुरामा अतिक्रमित भएको नेपालको भूमी समेटिएको नयाँ नक्शा राष्ट्रिय सहमतिमा जारी भएको छ ।
नेपालको अखणडता र स्वाधिनताको पक्षमा सरकारले गरेको यो एक ऐतिहासिक काम थियो । भूकम्पले क्षतिग्रस्त संरचनाहरुको पुननिर्माणको काम लगभग अन्तिम चरणमा पुगेको छ ।
रेलमार्ग तथा सडक पूर्वाधार लगायत राष्ट्रिय गौरवका आयोजनाहरुको निर्माणकार्य प्रभावकारी रुपमा अघि बढ्दै छन् । जेष्ठ नागरिकको सम्मान तथा किसान मजदुर वर्गको हितका लागि सामाजिक सुरक्षा कार्यक्रम अघि सारिएको छ ।
Categorized in राजनीति

