साफ च्याम्पियनसिप : भारतलाई हराउँदै नेपाल फाइनलमा
Janjati Khabar – Janjati Khabar | २०८१ कार्तिक ११, आइतबार
काठमाडौं- साफ महिला च्याम्पियनसिप अन्तर्गत नेपाल फाइनलमा प्रवेश गरेको छ। दर्शकको अपार साथ पाएको नेपाल घरेलु मैदानमा पेनाल्टी सुट आउटमा भारत माथि ४–२ को रोमाञ्चक जित निकाल्दै महिला साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको हो।
राष्ट्रिय महिला टोलीको भारतमाथि साफ च्याम्पियनसिपमा यो लगातार दोस्रो सेमिफाइनल विजय हो। साफ महिला च्याम्पियनसिपको उपाधीका लागि नेपालले र बाङ्ग्लादेशसँग प्रतिस्पर्धा गर्नेछ। भुटानलाई ७–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै आइतबार नै बाङ्ग्लादेश फाइनलमा पुगिसकेको छ।
यो जित सँगै नेपालले सेमिफाइनलमा भारतलाई नै किन प्रतिद्वन्द्वीको रूपमा लिन चाह्यो भन्ने कुरा प्रमाणित गरेको छ।भारतसँग लगातार चार फाइनल र एक सेमिफाइनलमा पराजित भए पनि गत वर्ष रङ्गशालामा नै भएको छैटौँ संस्करणको साफ सेमिफाइनलमा नेपालले रश्मि कुमारी घिसिङको गोलको मदतले भारतलाई पहिलो पटक साफमा फाइनलमा प्रवेश गरेको थियो।
त्यो जितको मनोबल र हाल बाङ्ग्लादेशले महिला फुटबलमा गरिरहेको प्रगति पछि नेपालले सेमिफाइनलमा भारतसँग खेल्न सहज महसुस गर्दै लिग चरणमा श्रीलङ्का विरुद्ध आवश्यक ६ गोल गरेर बाङ्ग्लादेश सँगको भेट पन्छाएको थियो।
दोस्रो हाफको पाँच मिनेटपछि १० जना खेलाडीमा सीमित भएको नेपाली टोलीले विवादका कारण ७३ मिनेटपछि रोकिएको खेल सुरु भएको एक मिनेटमै भारतलाई गोल फर्काएको थियो।
प्रिती राईको पासमा साबित्रा भण्डारीले नेपालका लागि सुन्दर गोल गरेर खेललाई बराबरीमा ल्याइपुर्याएकी थिइन्। त्यसअघि भारतले ७२ औँ मिनेटमा पहिलो गोल गरेर अग्रता लिएको थियो।
यसअघि माल्दिभ्सलाई ११–० गोलको भारी अन्तरले पराजित गर्दै नेपाल सेमीफाइनलमा पुगेको थियो।
भुटानलाई हराउँदै बंगलादेश लगातार दोस्रोपटक फाइनलमा
साबिक विजेता बंगलादेश साफ महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ । त्रिपुरेश्वस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा बंगलादेशले भुटानमाथि ७–१ गोलको सजिलो जित हासिल गरेको हो ।
बंगलादेशले प्रारम्भदेखि नै भुटानलाई दबाबमा राखेको थियो । बंगलादेका लागि तोहुरा खातुनले तीन गोल गरिन् । उनले निर्धारित समयको १५औँ, ३५औँ र ५८औँ मिनेटमा गोल गरेकी हुन् । सविना खातुनले पनि दुई गोल गरिन् । उनले २६औँ र ३७औँ मिनेटमा गोल गरेकी हुन् ।
यसैगरी, रितु चकमा र मासुरा प्रविनले पनि एक–एक गोल गरे । रितुले सातौँ र मासुराले ७२औँ मिनेटमा गोल गरेका हुन् । भुटानका लागि भने एकमात्र गोल निर्धारित समयको ४१औँ मिनेटमा डेकी लहजुमले गरेकी हुन् ।
बंगलादेश समूह ‘ए’ को विजेता र भुटान समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् । दोस्रो सेमिफाइनल खेल नेपाल र भारतबिच आइतबार नै खेलिने छ । नेपाल र भारतबिचको खेल साँझ १७ः३० बजे सुरु हुनेछ ।
नेपाल समूह ‘बी’ को विजेता र भारत समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् । साफ महिला च्याम्पियनसिपको अघिल्लो संस्करणको फाइनलमा बंगलादेशले नेपाललाई ३–१ गोलले हराएको थियो । त्यो संस्करण पनि नेपालमै आयोजना भएको थियो ।
Categorized in खेलकुद

