STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सामाजिक सुरक्षा योजना कार्यान्वयन गर्न आनाकानी

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ ३१, मंगलबार

रुपन्देहीका उद्योगी व्यवसायीले सरकारले साउन महीनादेखि लागू गर्न खोजेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यान्वयन गर्न आनाकानी गरेका छन् । रुपन्देही जिल्लाका व्यावसायिक सङ्घसंस्थाको समूह सञ्जालले सोमबार बुटवलमा पत्रकार सम्मेलन गरी सरकारले पूर्वाधार तयारीबिना उद्योगी व्यवसायी एवं रोजगारदाताको वास्तविकता नबुझी सामाजिक सुरक्षा योजना ल्याएको भन्दै कार्यान्वयनमा समस्या हुने बताए । उद्योगीले योगदानमा आधारित सामाजिक सुरक्षा कोष लागू गर्नुअघि हरेक स्तर र क्षेत्रका रोजगारदातासँग थप छलफल गर्नुपर्ने र कोषमा सरकारको समेत सक्रिय सहभागिता रहनुपर्ने माग गरेका छन् । उनीहरुले उद्योगी व्यवसायी एवं रोजगारदाताको पूँजी र कार्यरत श्रमिक सङ्ख्याको आधारमा ठूला, मझौला र साना उद्योगको वर्गीकरण गरी मापदण्डको आधारमा क्रमिकरूपमा लागू गर्दैै जाने व्यवस्था गर्नुपर्ने बताए । उनीहरुले साउन १ गतेदेखि लागू गर्न खोजिएको ढुवानीसम्बन्धी सवारी साधन तथा खरिद ट्र्याकिङ प्रणाली भिसिटी प्रविधि, पूर्वाधार र सक्षम जनशक्तिको अभावका कारण तत्काललाई अव्यावहारिक देखिएको जनाए । रुपन्देही उद्योग सङ्घका अध्यक्ष गणेशप्रसाद अधिकारीले सुरक्षा योजना कार्यान्वयन गर्दा विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकी स्थानीय उद्योगी व्यवसायी धरासायी हुने निश्चित भएको बताउनुभयो । उहाँले अस्थायी, दैनिक ज्यालादारी, गोटा र करारमा काम गर्ने मजदुरलाई यस कोषमा सहभागिताका लागि बाध्यतात्मक गर्न नहुने माग गर्नुभयो । तेस्रो मुलुकका कामदार राखेबापत जम्मा गर्नुपर्ने वार्षिक रकम न्यून गरिनुपर्ने, दुर्घटनामा परी घाइते हुने श्रमिकको औषधि उपचार गर्न पायक पर्ने अस्पतालमा व्यवस्था हुनुपर्ने, उपचारका लागि सरकारी तथा निजी दुवै अस्पतालमा सुविधा दिइनुपर्ने र भुक्तानी प्रक्रिया सरल बनाइनुपर्ने, सामाजिक सुरक्षा कोषमा सहभागी हुने रोजगारदातालाई समेत कर भुक्तानीको योगदानको आधारमा छुट्टै कोषको व्यवस्था गरी सुविधा प्रदान गरिनुपर्नेलगायतका माग उद्योगीहरुले गरेका छन् ।
Categorized in राष्ट्रिय