सौताको हत्या गरेको आरोपमा महिला पक्राउ
Janjati Khabar – Janjati Khabar | २०७८ माघ २६, बुधबार
माघ २६, काठमाडौं - हत्याको आरोपमा बैतडीमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोगडाकेदार गाउँपालिका २ मल्लागाउँकी ५५ वर्षीया नारु महरा रहेकी छिन् ।
महरालाई उनकी सौता ४० वर्षीया चन्द्रा महराको हत्याको आरोपमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।
चन्द्राका माइती पक्षले दिएको जाहेरीका आधारमा नारुलाई पक्राउ गरिएको हो । पक्राउ परेकी नारुले बयानका क्रममा सौताको हत्या गरेको स्वीकार गरेको शाहीले बताए ।
प्रहरीले घटनाबारे थप अनुसन्धान थालेको छ । १८ माघमा चन्द्रा घर नजिकैको खाली घरमा मृत फेला परेकी थिइन् । उनको घाँटी र मुखमा चोट थियो । नारुले घटनाअघि पनि चन्द्रालाई कुटपिट गर्ने गरेकी प्रहरी अनुसन्धानबाट खुलेको छ ।


