स्व अधिकारीका परिवारलाई सहयोग
Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र ६, शुक्रबार
सडक दुर्घटनामा ज्यान गुमाएका रुपन्देहीका पत्रकार डायलसन अधिकारीका परिवारलाई तिलोत्तमा नगरपालिकाले रु पाँच लाख आर्थिक सहयोग गर्ने भएको छ । स्व अधिकारीको निवासमा आज आयोजित शोकसभामा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले आर्थिक सहयोग गर्ने घोषणा गर्नुभएको हो ।
नगरपालिकाले आयोजना गर्न लागेको लगानी सम्मेलनको प्रचारका क्रममा अधिकारीको सडक दुर्घटनामा ज्यान गएकाले उहाँको परिवारलाई यथाशक्य सहयोग गर्ने घिमिरेले बताउनुभयो ।
नगरपालिकाले स्व अधिकारीका नाममा डायलसन अधिकारी पत्रकारिता अक्षय कोष स्थापना गर्ने निर्णयसमेत गरेको छ । अक्षय कोषमा नेपाल पत्रकार महासङ्घ रुपन्देही, परिवारका सदस्य र तिलोत्तमा नगरपालिकाको समन्वय रहने गरी कार्यविधि तयार गरी सञ्चालन गरिनेछ प्रमुख घिमिरेले भन्नुभयो ।
तिलोत्तमा नगरपालिकाले आगामी असोजमा गर्ने लगानी सम्मेलनको प्रचारप्रसारका लागि पूर्वी नेपालको भ्रमणमा गएका अधिकारीको गत साउन ३२ गते पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत सप्तरीको कञ्चनपुरमा सडक दुर्घटनामा परी ज्यान गएको थियो ।
Categorized in राष्ट्रिय


