मूर्तिकला हेर्न टेउवामा आन्तरिक पर्यटकको भीड
Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण १९, सोमबार
मूर्तिकला कार्यशालाको अवलोकनका लागि आउने विद्यार्थी तथा पर्यटकको भीड बढ्दै गएपछि लाइनमा राखेर दृश्यावलोकन गराउने गरेको नेपाल प्रहरीका हवल्दार यदुनाथ पन्तले जानकारी दिनुभयो । कार्यशालामा मूर्तिकारहरुले भावना, संस्कार, संस्कृति, सङ्घर्ष, प्रकृति, पानी र जीवन झल्काउने कलात्मक मूर्ति तयार पारिरहेको कार्यशालाको संयोजक तथा मूर्तिकार ओम खत्रीले बताउनुभयो । मूर्तिकला कार्यशाला अवलोकनका लागि ४० जना शिक्षक तथा विद्यार्थी लिएर टेउवामा आएको गलकोट नगरपालिका–६ भुजुङ्गे आधारभूत विद्यालयका प्रधानाध्यापक इन्द्रनाथ गौतमले जानकारी दिनुभयो ।
मूर्तिकारले निर्माण गरेका मूर्तिहरु जुन दृष्टिकोणबाट हे¥यो त्यस्तै देखिएको भन्दै तस्बिरले विभिन्न भावनात्मक कुरा समेटेको अवलोकनकर्ता गौतमको भनाइ रहेको छ । कार्यशाला शुरु भएपछि भारत तथा नेपालका विभिन्न जिल्लाबाट झण्डै ६ हजार पर्यटकले अवलोकन गरिसकेको आयोजकले जनाएको छ । अवलोकनका लागि पर्यटकहरु आउन थालेपछि पर्यटकहरुको रेकर्ड राख्नसमेत शुरु गरिएको छ ।
कार्यशालामा जापानबाट जुन इचिरो सुगीमोतो, चीनबाट लिउ याङ्ग, इटालीबाट बिटिनो फ्रान्सेनी, फ्रान्सबाट जिवियर्स गोँजालेज, ताइवाट लिन लि जेन, क्यानडाबाट जुली ग्ल्यास्पी, भारतबाट टुटु पटानायक, इजरायलबाट तान्या प्रिमिङ्गर, ब्राजिलबाट जर्जलुइज र युक्रेनबाट मूर्तिकार ल्युड्मेलले कार्यशालामा मूर्ति तयार पारिरहेका छन् । केहीले मूर्ति तयार पारिसकेको र केही कलाकारहरुले मूर्ति निर्माणको अन्तिम चरणमा पुगेका छन् ।
कार्यशालामा नेपालबाट मूर्तिकार प्रवीणकुमार श्रेष्ठ, ओम खत्री, राजन काफ्ले, बुद्ध चौधरी र राजु पिथाकोटेले मूर्ति निर्माण गरिरहेको कला प्रतिष्ठानका सचिव सुनमाया ढकालले जानकरी दिनुभयो ।
स्थानीयले निर्माणाधीन खुला सङ्ग्रहालयका लागि २३ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको कला प्रतिष्ठानका कोषाध्यक्ष यामबहादुर श्रीसले जानकारी दिनुभयो । खुला सङ्ग्रहालयको २०७४ सालमा रु १२ करोडबराबरको विस्तृत अध्ययन प्रतिवेदन डिपीआर तयार गरी काम थालिएको थियो । कोषाध्यक्ष श्रीसका अनुसार आगामी असारसम्म झण्डै रु तीन करोड खर्च भइसक्ने गरी निर्माण भइरहेको छ । कार्यशाला यही फागुन २१ गते समापन हुँदैछ । कार्यशालामा निर्माण गरिएको १७ वटाभन्दा बढी मूर्तिहरु खुला सङ्ग्रहालयमा प्रतिस्थापन गरिने जनाइएको छ ।
Categorized in राष्ट्रिय


