कांग्रेस महामन्त्रीको मतगणना बिहानदेखि सुरु
Janjati Khabar – Janjati Khabar | २०७८ पौष १, बिहिबार
गच्छदार दुई मतले हार्दा
काठमाडाैं, पुस १ - नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत महामन्त्री पदको मतगणना आज बिहानदेखि सुरु हुँदैछ । बिहान ८ बजेदेखि महामन्त्री पदको मतगणना सुरु गर्ने तयारी रहेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
महामन्त्रीका दुई सिटका लागि विभिन्न समूहबाट ६ जना प्रतिस्पर्धामा छन् । सभापति शेरबहादुर देउवा समूहबाट प्रकाशशरण महत र प्रदीप पौडेल छन् । पौडेल सिटौला समूहबाट हुन् । शेखर कोइराला समूहबाट गगन थापा र मीनेन्द्र रिजाल मैदानमा छन् ।
यस्तै प्रकाशमान सिंह समूहबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधि समूहबाट राजाराम कार्की महामन्त्रीको उम्मेदवार छन् । शर्मा संस्थापनकाे काेटामा नपरेपछि सिंहको प्यानलबाट उठेका हुन् । देउवाले सहमहामन्त्रीमा उठ्न गरेकाे प्रस्ताव नमानेका उनी शेखरकाे प्यानलबाट महामन्त्री लड्ने चर्चा पनि चलेकाे थियाे । तर मीनेन्द्र रिजालले ठाउँ खाली नगरेपछि उनी सिंहकाे प्यानलबाट उठेका हुन् ।
यसअघि सभापतिमा शेरबहादुर देउवा र उपसभापतिमा पूर्णबहादुर खड्का तथा धनराज गुरुङ निर्वाचित भएका छन् । उपसभापतिमा संस्थापनका पुराना नेता विजय गच्छदार मात्र २ मतले हारेपछि अब महामन्त्रीको नतिजा कस्तो आउला भन्ने कौतुहलता बढेको छ ।
खड्का २१२१ र गुरुङ १९०८ मत ल्याएर विजयी हुँदा १९०६ मत ल्याएका गच्छदारले हार्नुपर्यो । उपसभापतिमा कोइराला प्यानलका चन्द्र भण्डारीले १५८०, प्रकाशमान प्यानलकी सुजाता कोइरालाले ६४४ र महेश आचार्यले ५८९ र दिव्येश्वरी शाहले १३२ मत पाए ।
Categorized in राजनीति

