STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सकियाे तिहार, छठकाे रौनक सुरू

Janjati Khabar – Janjati Khabar | २०७९ कार्तिक ११, शुक्रबार

काठमाडौँ - यसपालिको तिहार पर्व सकिएको छ । हिजो भाइटीका लगाएसँगै तिहार पर्व सकिएको हो । हिजो दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएका थिए । यस्तै, दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिएका थिए ।

भाइटीकासँगै झिलिमिली पर्व तिहार सकिएको छ । यसपालिको तिहारमा फलफूल र फूलमालाको आयात बढेको छ । यसपालि साढे चार लाख फूलमाला भारतबाट आयात भयो भने साढे २४ लाखभन्दा धेरै फूलमालाको कारोबार भएको छ । फूलमालाको कारोबार हिजो पनि भइरहेकाले यकिन तथ्याङ्क आउन भने बाँकी नै छ ।

यस्तै, तिहारका लागि मात्रै भनेर झण्डै ७५ करोड रुपैयाँ बराबरको फलफूल आयात भएको छ ।

यसैबीच, तिहार सकिएसँगै छठ पर्वको रौनक सुरु भएको छ । विशेषत सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वको रुपमा लिइन्छ । अहिले जनकपुरधामसहित सम्पूर्ण तराई–मधेसका प्रमुख बजारमा निकै चहलपहल बढेको छ। लक्ष्मी पूजाको चार दिनपछि अर्थात् कार्तिक शुक्ल पक्षको चौथी तिथिका दिनबाट छठ पर्व विधिवत् रूपमा आरम्भ हुन्छ।

तराईका जिल्लामा छठ पूजाका लागि चाहिने सामग्री, हरिया तरकारी र फलफूल किन्नेको भिडभाड छ । खासगरी छठ पूजामा छठी मातालाई अर्पण गरिने प्रसादमा स्याउ, केरा, सुन्तला, पानी भएको नरिवल, उखु, हरियो बोडी, पानी सिङ्गडा, मुला, अदुवाको बोट पर्छन्। अहिले छठपर्व मनाउनेहरू पोखरीका डिल र नदीका तट सरसफाइ गर्दै आफ्ना लागि पूजास्थल सुरक्षित बनाउन थालेका छन्। घाटमा लाखौँ रकम खर्चेर सरसफाइ, सजावट र व्यवस्थापनका काम पनि धमाधम भइरहेका छन् ।

पर्सि छठको मुख्य दिन हो । छठ पर्वका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।

Categorized in राष्ट्रिय