STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

गगनगाैंडामा भिडियोग्राफी तथा फोटोग्राफी प्रशिक्षण

Janjati Khabar – विजयरत्न असंबरे | २०८२ पौष ४, शुक्रबार

नेपाल पुन मगर समाज, तल्लो गगनगौडाको व्यवस्थापनमा सञ्चालन हुन लागेकाे १ महिने भिडियोग्राफी तथा फोटोग्राफी प्रशिक्षण कार्यक्रम अारम्भ भएको छ ।  चलचित्र बिकास बोर्डको सहयोगमा तथा मगर चलचित्रकर्मी संघको आयोजनामा  साे कार्यक्रम अारम्भ भएको  को हो ।

चलचित्र बिकास बोर्डले यो बर्षलाई दक्षता अभिवृद्वी बर्ष २०८२ घोषणा गरेको छ । त्यसै अन्तरगत स्थानीय चलचित्रकर्मीको सीप, क्षमता र व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले सुरु गरिएको उक्त कार्यक्रम गण्डकी प्रदेशसभाकी उपसभामुख को प्रमुख आतिथ्यमा उद्घाटन गरिएको हो।

कार्यक्रमका विशेष अतिथि नेपाल पुन मगर समाज केन्द्रीय समितिका अध्यक्ष खमबहादुर पुन मगरले समाजको सूचना विभाग संयोजक देव चोचाङी मगरको सहजीकरणमा कार्यक्रम सञ्चालनका लागि स्थानीयस्तरमै आवश्यक तयारी गरिएको जानकारी दिए। उनले गण्डकी प्रदेश स्तरीय चलचित्र विकास बोर्ड गठनको आवश्यकता औँल्याउँदै यसले प्रदेशका चलचित्रकर्मीलाई थप अवसर र पहुँच प्रदान गर्ने धारणा राखे।

मगर चलचित्रकर्मी संघका संस्थापक अध्यक्ष तथा मगर–गुरुङ चलचित्रका पहिलो निर्देशक युवराज मास्की राना मगरले मगर चलचित्रको ऐतिहासिक पृष्ठभूमिबारे चर्चा गरे। संस्थापक महासचिव मेजन पुन मगरले मगर चलचित्रको विगत र वर्तमान अवस्थाको विश्लेषण प्रस्तुत गरे। संघका निवर्तमान अध्यक्ष भीम राना मगरले फोटो तथा भिडियोमार्फत आत्मनिर्भर बन्न सकिने सम्भावना रहेको उल्लेख गर्दै तालिमलाई गहिराइपूर्वक लिन अनुरोध गरे। गुरुङ चलचित्रका अध्यक्ष राजबहादुर गुरुङले आदिवासी समुदायका चलचित्रहरू चलचित्र विकास बोर्डमा निःशुल्क दर्ता गरिनुपर्ने विषय उठाउँदै विगतका प्रयासहरू स्मरण गराए। कार्यक्रममा नेपाल मगर संघ केन्द्रीय समितिको सांस्कृतिक विभागका सह–संयोजक हर्क आले मगरले पनि मन्तव्य राखे।

कार्यक्रममा हेमबहादुर पुन स्मृति प्रतिष्ठानका अध्यक्ष, आदिवासी जनजाति पत्रकार महासंघका उपाध्यक्ष एमबी आस्था, मगर लेखक संघका भाषिक उपाध्यक्ष रुद्र श्रीस मगर, नेपाल मगर पत्रकार संघ कास्कीका अध्यक्ष सुरज थापा मगर, आदिवासी जनजाति चलचित्र महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष सन्तोष पिठाकोटे मगर, नेपाल पुन मगर समाज तल्लो गगनगौडाका अध्यक्षलगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता मगर चलचित्रकर्मी संघका अध्यक्ष विश्वास आले मगरले गरेका थिए। स्वागत मन्तव्य केन्द्रीय सदस्य भुपेन्द्र रिखाम मगरले राखे भने कार्यक्रमको औचित्यबारे उपाध्यक्ष देव चोचाङी मगरले जानकारी दिए। कार्यक्रमको सञ्चालन कोषाध्यक्ष जानु मगरले गरे।

पुस २ गतेदेखि नेपाल पुन मगर समाज, तल्लो गगनगौडाको सभाहलमा एक महिनासम्म सञ्चालन सुरू भएको उक्त तालिमको सहजीकरण उपाध्यक्ष देव चोचाङी मगरले गर्नेछन्।

चलचित्र विकास बोर्डको सहयोगमा सञ्चालन भइरहेको यो कार्यक्रम आदिवासी जनजाति तथा मातृभाषी चलचित्रको प्रवर्द्धनसँग प्रत्यक्ष रूपमा जोडिएको छ। बोर्डले लामो समयदेखि आदिवासी जनजाति समुदायका चलचित्रकर्मी, भाषा र संस्कृतिमा आधारित चलचित्रलाई प्राथमिकताका साथ प्रोत्साहन गर्दै आएको  छ।

बोर्डका अनुसार गत वर्ष १४ वटा जातीय चलचित्र संगठनहरूले तालिम, कार्यशाला तथा चलचित्रसम्बन्धी कार्यक्रम सञ्चालन गरेका थिए, जसमा चलचित्र विकास बोर्डले सहकार्य र सहयोग गरेको थियो। यसले स्थानीय स्तरमै चलचित्र निर्माण, प्रविधि र सिप विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको बोर्डको निष्कर्ष छ।

यसै सन्दर्भमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले चालु वर्षलाई ‘दक्षता अभिवृद्धि वर्ष’ घोषणा गरिएको स्मरण गर्दै स्थानीय चलचित्रकर्मीको सीप, क्षमता र व्यावसायिकता अभिवृद्धि गर्ने कार्यक्रमहरूमा बोर्डले प्राथमिकताका साथ सहयोग तथा सहकार्य गर्दै आएको बताएका छन।

 

चलचित्र विकास बोर्डको यस पहलले स्थानीय प्रतिभा पहिचान, प्रविधिमैत्री सिप विकास तथा सांस्कृतिक विविधताको संरक्षणमा उल्लेखनीय टेवा पुग्ने अपेक्षा गरिएको छ।

Categorized in राष्ट्रिय