STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अमेरिका, चीन र भारतसँगको सम्बन्धबाट नेपालको भलाइ हुनेछः डा नायाक

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र २९, आइतबार

नेपालले नयाँ विदेश नीति आन्तरिक अवस्था, क्षेत्रीय र अन्तरराष्ट्रिय सन्दर्भलाई हेरेर तय गर्न सकेमा प्रशस्त लाभ लिन सक्ने बताइएको छ । विश्वका उदीयमान दुई ठूला छिमेकी मुलुक भारत र चीनको बीचमा रहेकाले नेपालले सन्तुलित विदेश नीतिबाट धेरै लाभ उठाउन सक्ने अवसर रहेको आज यहाँ आयोजित कार्यक्रममा एक भारतीय विज्ञले धारणा राख्नुभयो । त्रिभुवन विश्वविद्यालय, नेपाल तथा एशियाली अनुसन्धान केन्द्र९सिनास०ले आयोजना गरेको ‘नेपाल भारत सम्बन्धका आयाम’ विषयको अन्तरक्रियामा भारतका विदेश मामिलाविज्ञ डा निहार आर नायाकले दुई छिमेकी मुलुकसँग आपसी हितका आधारमा सौदाबाजी गरी नेपालले बढीभन्दा बढी लाभ लिन सक्नुपर्छ भन्नुभयो । विश्वव्यापी सन्दर्भमा शक्तिशाली अमेरिका र उदीयमान चीनको सम्बन्धले एक दशकयता विश्व राजनीतिक परिदृश्यमा नयाँ आयाम आएको बताउँदै उहाँँले भन्नुभयो, ‘‘अमेरिका, चीन र भारतसँगको तटस्थ एवं उद्देश्यमूलक मित्रवत् सम्बन्धबाट नै नेपालको भलाइ हुनेछ ।’’ एक प्रश्नको जवाफमा नेपाल–भारतबीच भौगोलिक रुपमा मात्र नभई अन्य विविध पक्षले समेत सम्बन्धलाई गहिराइमा पु¥याएको सन्दर्भ उल्लेख गर्दै उहाँले ‘ठूलो दाइ’ र ‘सानो भाइ’ रुपमा नभई समान हैसियतका आधारमा सम्बन्ध स्थापित रहेको बताउनुभयो । अमेरिकाले अघि सारेको एशिया–प्रशान्त रणनीति र चीनले ल्याएको ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ अवधारणाका बारेमा नेपालले आफूलाई लाभ पुग्ने गरी उपयुक्त निर्णय गर्न सक्ने उहाँको भनाइ थियो । नेपालले संविधान जारीपछि सङ्घीयता कार्यान्वयनसँगै स्थायी सरकारमार्फत विकास प्रक्रियामा अगाडि बढाएको अवस्था भारतका लागि अत्यन्त सुखद् रहेको बताउँदै उहाँँले जनताका तीव्र आकाङ्क्षालाई सम्बोधन गरी आर्थिक समृद्धि र विकासको बाटामा लाग्न सकेमा समृद्ध नेपाल र सुखी नेपालीको सपना पूरा हुन सक्छ भन्नुभयो । उहाँसँग डा आनन्द आदित्य, डा देवराज दाहाल, युवराज घिमिरेलेगायत विज्ञले नेपाल–भारतबीचका सम्बन्धमा आएका विभिन्न समस्या, विश्व परिवेशमा दुई देशबीचको भूमिकालगायत विषयमा जिज्ञासा राख्नुभएको थियो । सो अवसरमा सिनासका निर्देशक डा मृगेन्द्रबहादुर कार्कीले क्षेत्रीय र विश्व परिवेशमा आएको परिवर्तनले नेपालको विदेश नीतिमा पार्न सक्ने प्रभाव र भूराजनीतिक परिदृश्यका बारेमा स्पष्ट हुन आवश्यक रहेको बताउँदै विज्ञ तहमा हुने यस खालका छलफलले सरकार, राजनीतिक दल र आम समुदायलाई उपयुक्त नीति र दृष्टिकोण बनाउन सहयोग पुग्ने धारणा राख्नुभयो ।
Categorized in राष्ट्रिय